पत्रकार बनाएर विदेशमा मानव तस्करी गर्ने पत्रकारलाई कारबाही

काठमाडौं । मानव तस्करी प्रकरणमा मुछिएका पत्रकार अनिलकुमार गुप्तालाई कारबाहीको सिफारिस भएको छ ।

कोरियामा मानव तस्करीका विषयमा पत्रकार जोडिएको प्रकरणमा गठित छानबिन समितिले बुधबार प्रतिवेदन बुझाएको छ । गुप्ताले पत्रकारहरू बनाएर कोरियामा मानव तस्करी गरेको आरोप लागेको छ ।

समितिका संयोजक लेखनाथ न्यौपानेले नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेललाई छानबिन प्रतिवेदन बुझाएका छन् ।

अध्यक्ष पोख्रेलले पत्रकार जोडिएको विषयमा समितिबाट आएको सुझाव सहितको प्रतिवेदन महासंघको लागि महत्वपूर्ण रहने बताए । उनले मानव तस्करी प्रकरणमा दोषी देखिएका महासंघका सदस्यमाथि तत्काल कारबाही अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

छानबिन प्रतिवेदनमा गैर पत्रकारलाई पत्रकार बनाएर १५ लाख रुपियाँ लिई कोरियामा पठाउने भन्दै नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य तथा उपत्यका प्रदेश समितिका कार्यसमिति सदस्य एवं गोलमेच पत्रिकाका तत्कालीन सम्वाददाता अनिलकुमार गुप्तालाई मानव तस्करीको प्रकरणमा अन्तिम टुङ्गो लाएर सफाइ नपाएसम्मका लागि साधारण सदस्यता समेत नरहने गरी सदस्यता खारेजीको सिफारिस गरिएको छ ।

गैर पत्रकारलाई पत्रकार हो भन्दै सिफारिस दिने, नलेखेको समाचार लेखेको हो भन्दै बाइलाइनमा छापिदिने र कोरिया जान सिफारिस दिने नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका पार्षद तथा गोलमेच साप्ताहिकका प्रकाशक तथा सम्पादक एकराज दाहाललाई २०८० मंसिर ६ गतेदेखि लागू हुने गरी तीन महिनाका लागि साधारण सदस्यताबाट समेत निलम्बन गर्न सिफारिस गरिएको छ ।

पत्रकारलाई पत्रकार होभन्दै सदस्यता नै नरहेको काठमाडौं शाखाबाट सिफारिस दिने काठमाडौं शाखाका अध्यक्ष सूर्य सुवेदीलाई पदीय मर्यादा कायम गर्न र आफ्नो जिम्मेवारी बुझेर काम गर्न तथा गराउन सचेत गराउने निर्देशन दिन सिफारिस गरिएको छ ।

Published : Wednesday, 2023 November 22, 11:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया