सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाउने निर्णय : मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले एक सयदेखि ३ सयसम्म बेड भएका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाउने निर्णय भएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयले नर्सिङ र पारामेडिक्स निर्णय गरेको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र सम्बन्धित निकायसँग पटकपटक छलफल गरेपछि आफूले नर्सिङ र पारामेडिक्स पढाउने नीतिगत निर्णय लिएको बताए ।

मन्त्री बस्नेतले नेपालमा पढ्न नसक्ने र बाहिर पनि जान नसक्नेहरु डिप्रेशनमा जाने क्रम बढेपछि आफूले चिकित्सा शिक्षा अध्ययनका लागि क्रान्तिकारी रुपान्तरण नै हुनेगरी निर्णय लिएको बताए ।

नर्सिङ र पारामेडिक्स पढाउने निर्णय कार्यान्वयनका लागि सम्बन्धित अस्पतालहरूसँग सुझाव लिने काम सुरु गरिएको मन्त्री बस्नेतले बताएका छन् ।

मन्त्री बस्नेतले ३ सयभन्दा बढी बेड भएका सरकारी अस्पतालहरूमा भने एमबीबीएसको पनि पठनपाठन हुनेगरी सम्बन्धित निकायसँग छलफल गरिएको बताए ।

000

आज मिति २०८० मंसिर ६ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकको मेडिकल शिक्षाको क्षेत्रमा आमूल परिवर्तनका खातिर निम्नलिखित निर्णय गरेको छ :

१) १ सय देखि ३०० सम्म वेड सङ्ख्या भएका अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई प्यारामेडिक्स र नर्सिङ पठनपाठनको अनुमती दिने,

२) ३०० भन्दा माथी वेड सङ्ख्या भएका अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई नर्सिङ, प्यारामेडिक्स र मेडिकल अधिकृत (MBBS) पठनपाठनको अनुमती दिने,

३) आवश्यक जनशक्ति, भौतिक संरचना र मेडिकल उपकरणहरुको विद्यमान व्यवस्था अनुसार सम्बन्धित अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान हरुले कुन कुन विषयमा, कुन कुन तहमा, कति कति विद्यार्थी पठनपाठन गर्न/गराउन सक्ने कुराको जानकारी संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दिनको निमित्त पत्राचार गर्ने,

माथी उल्लेखित निर्णयहरुको कार्यान्वयनको पहलकदमीका निमित्त चिकित्सा शिक्षा आयोग लगायत सम्बन्धित निकायहरुमा पत्राचार भई सकेको कुरा सम्बन्धित सबैमा जानकारी गराउँदछु । साथै, निर्णयहरुको कार्यन्वयन पश्चात् भरखरै सम्पन्न चिकित्सा शिक्षा आयोगको Medical Education Common Entrance Examination-2023 मा आवेदन दिने ३९ हजार ४ सय ७० जना मध्ये नेपालमा ७ हजार ६ सय ६ जना मात्र पढ्न पाउने जस्तो गम्भीर समस्या समाधान भई निम्नलिखित उपलब्धिहरु हासिल हुनेछन् :

१) मेडिकल शिक्षामा लाखौं विद्यार्थीहरुले नेपाल मै पठनपाठन गर्न पाउने,

२) हजारौंको रोजगारी सृजना हुने,

३) ठूलो संख्यामा युवा शक्ति विदेश पलायन रोक्ने,

४) विदेशी विद्यार्थी नेपाल आई अध्ययन गर्नाले विदेशी रकम अर्बौ देशमा भित्रिने,

५) नेपाली विद्यार्थी नेपाल मै अध्ययन गर्नाले खर्बौ रकम मुलुक मै रहने, जस्ता मुलुकलाई फाईदै फाईदा पुग्ने थुप्रै उपलब्धिहरु हासिल हुनेछन् ।

Published : Wednesday, 2023 November 22, 11:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया