काठमाडौंको गेष्ट हाउसको २०१ नं. कोठामा छापा, एन्जिलासहित २४ जना ‘खेलाडी’हरु पक्राउ

काठमाडौं । प्रहरीले जुवातास खेल्दा खेल्दै काठमाडौंबाट २४ जनालाई नगदसहित पक्राउ गरेको जनाएको छ ।

काठमाडौं महानगरपालिका–२६ पवित्रनगरस्थित प्रवीन गेष्ट हाउसको २०१ नम्बर कोठामा जुवातास खेलिरहेको अवस्थामा पाँचथर फालेलुङ गाउँपालिका–८ घर भएका ४२ वर्षीय सुरेन्द्र जबेगु समेत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

गोप्य सूचनाको आधारमा प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ४ सय रूपियाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

सोही गेस्ट हाउसको पार्किङमा ओखर(जुवा) खेलिरहेको अवस्थामा पाँचथर फाल्गुनन्द गाउँपालिका–४ घर भएकी ४० वर्षीया एन्जिला लिम्बु समेत १० जनालाई नगद ४९ हजार ५ सय ५० रूपियाँ र ८ गेडा ओखरसहित सोही प्रहरी टोलीले आइतबार साँझ पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१३ कालीमाटीस्थित तरकारी बजारको सडक पेटीमा जुवातास खेलिरहेको अवस्थामा गोर्खा घर भई हाल कालिमाटी डेरा गरी बस्ने ३५ वर्षीय आसमान परियार समेत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३९ हजार रूपियाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।

Published : Monday, 2023 November 20, 7:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया