प्रदीपलाई बालकोट छिर्न पूर्णविराम, प्रेम राईले ठाउँमै लगेर छाड्ने, काण्डैकाण्डका फाइल खुल्ने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको पछिल्लो समय ओठमुख सुकेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चीनको मिटर व्याज ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा छापामारेर अनुसन्धान अगाडि बढाएपछि विवादित महानिर्देशक अधिकारीको निदहराम भएको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको भनेर विश्व प्रख्यात पत्रिका न्यूयोर्क टाईम्सले समाचार छापेपछि महानिर्देशक अधिकारी निकै तनाबमा परेको प्राधिकरण निकट एक उच्च कर्मचारीले बताएका छन् । अख्तियार छिरेपछि अधिकारीको ओठमुख सुकेको छ ।

अख्तियारले कागजपत्र कब्जा गरेर लगेपछि महानिर्देशक अधिकारी झन् आत्तिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईसंग सेटिङ्ग मिलिसक्यो भनेर प्राधिकरणभित्र फुर्ती लगाउने गरेका महानिर्देशक अधिकारी अख्तियारको पञ्जाबाट बच्न नेताहरुको घर धाउन थालेको स्रोतले जनाएको छ ।

उनले नेताहरुलाई धमाधम भेट गरेर अख्तियारबाट बचाउन अनुनयविनय गरिरहेका छन् । अख्तियारका प्रमुख आयुक्त राई निष्ठावान व्यक्ति हुन् । राईका बारेमा अहिलेसम्म गलत कार्य र प्रलोभनहरुका बारेमा सुनिएको छैन ।

अख्तियारका प्रमुख आयुक्त राई मिलाउन महानिर्देशक अधिकारी सबैभन्दा पहिला एमालेबाट विद्यार्थी राजनीति गरेको भनेर साइनो लगाएर एमालेका अध्यक्ष केपी ओलीलाई भन्न लाउने कोशिस गरेका थिए ।

महानिर्देशक अधिकारीले चुनावका बेला नेकपा (एकीकृत समाजवादी)लाई सहयोग गरेको कुरा लुकेको छैन । सोही कारण अध्यक्ष ओलीको दरबारमा महानिर्देशक अधिकारीले खुट्टा टेक्न सकेका छैनन् । ओलीले पनि महानिर्देशक अधिकारीलाई बालकोटमा छिर्न नदिनुभनेर निजी सचिवालय र सुरक्षाकर्मीहरुलाई निर्देशन दिएको एमाले स्रोतले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चाकडी बजाएर महानिर्देशक अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको मन्त्री पद नै झण्डै खाइदिएका थिए । किराँती पनि महानिर्देशक अधिकारीलाई बचाउने पक्षमा छैनन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकमा अख्तियारले छानविन गरेको विषयलाई अन्तर्राष्ट्रिय मिडिया र समुदायले हेरिरहेका छन् । सोही कारण महानिर्देशक अधिकारीको निदहराम भएको छ ।

अख्तियारलाई पनि पोखरा विमानस्थलका बारेमा छानविन गरेर दोषीलाई हदैसम्मको कारबाही गर्ने जिम्मेवारी र दायित्व आएको छ । महानिर्देशक अधिकारी तत्कालीन समयमा पोखरा विमानस्थलको आयोजना प्रमुख थिए । अनुसन्धानका क्रममा कुनै कैफियत देखियो भने अधिकारीको महानिर्देशक पद पनि फुत्किनेछ । विशेष अदालतबाट दोषी ठहर भएमा जेलको चिसो हावा पनि खानुपर्ने अवस्था आउन सक्छ । उनले सफाइ पनि पाउन सक्छन् ।

अख्तियारलाई पोखरा विमानस्थलको छानविन र अनुसन्धान फलामको चिउरा सावित हुन्छकि भन्ने आशंका पनि छ । नेपालको ईतिहाँसमै सबैभन्दा ठूलो भ्रष्टाचारको आशंका र दाबी गरिएको पोखरा विमानस्थल प्रकरणको निश्पक्ष छानविन भएर दोषीलाई कारवाही गर्न सके नेपाल सरकारको केहि हदसम्म विदेशी समुदायले विशवास गर्नेछन् ।

अख्तियारको पनि साख रहनेछ । पोखरा विमानस्थलको राम्रोसंग छानविन गर्नुपर्ने कर्मचारीहरुको पनि माग छ । पोखरा विमानस्थलको छानविनपछि भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पनि छानविन गर्न बाटो खुल्नेछ ।

अन्य विमानस्थलको स्तरोन्नतिको नाममा भएका भ्रष्टाचारहरुको फाइल पनि धमाधम खुल्नेछन् । प्राधिकरणभित्र लहरो तान्दा पहरो खस्ने संभावना छ ।

अख्तियारका प्रमुख आयुक्त राईले पोखरा विमानस्थलको छानविनमा खुट्टा नकमाएर अगाडि बढ्न प्राधिकरणका कर्मचारीहरुले शुभकामना दिएका छन् । अख्तियारले अधिकारीलाई महानिर्देशक पदबाट निलम्बन गरेर कारबाही गर्नुपर्ने सुझाव पनि छ ।

Published : Sunday, 2023 November 19, 8:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया