एआईजी ज्ञवालीको कागजपत्र पठाउन गृह मन्त्रालयलाई निर्देशन

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक(एआइजी) श्यामलाल ज्ञवालीको जन्ममिति सम्बन्धि विषयमा गृह मन्त्रालयसँग जानकारी माग गरेको छ ।

एआईजी ज्ञवालीविरुद्ध समितिमा दुईवटा उजुरी परेपछि सभापति रामहरि खतिवडाको निर्देशनमा गृह मन्त्रालयबाट कागजात माग गरिएको समितिका सचिव सुरजकुमार दुराले बताएका छन् ।

ज्ञवालीविरुद्ध तिहारअघि र पछि गरेर दुईवटा उजुरी परेका छन् । एआईजी ज्ञवालीविरुद्ध पछिल्लो उजुरी शुक्रबार परेको थियो ।

एआईजी ज्ञवालीविरुद्ध उजुरी परेलगत्तै समितिका सभापति खतिवडाले उजुरीमा उल्लेखित विषयबारे सत्यतथ्य पत्ता लगाउन गृहमन्त्रालयसँग जवाफ माग्न निर्देशन दिएका छन् ।

शुक्रबार नै समितिका सचिव दुराले गृह मन्त्रालयलाई लिखित निर्देशन जारी गरेर एआइजी ज्ञवालीको जन्मसँग सम्बन्धित कागजातहरू पेश गर्न भनेका छन् ।

गृह मन्त्रालयलाई सातदिनभित्र कागजात पेश गर्न भनेको सचिव दुराले बताएका छन् ।

एआइजी ज्ञवालीको नागरिकता प्रमाणपत्र र शैक्षिक प्रमाणपत्रका आधारमा जन्ममिति फरक-फरक छभन्ने विषयमा विवाद भएपछि सर्वोच्च अदालतसम्म रिट पुगेको थियो । सर्वोच्च अदालतले जन्ममितिको विवाद नरहेको भन्दै सो विषयलाई खारेज गरिदिएको थियो ।

Published : Sunday, 2023 November 19, 1:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया