दाङमा टोले गुण्डाहरुको बिगबिगी, घोराहीमा चक्कु प्रहार, कृतिकलाई काठमाडौं लगियो

काठमाडौं । दाङमा युवकलाई चक्कु प्रहार गर्ने तीन जना टोले गुण्डाहरुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

कात्तिक ३० राति पौने दश बजे घोराही उपमहानगरपालिका वडा नं. १५ गोर्खा हस्पिटल नजिकै हिँडिरहेको अवस्थामा भरतपुर बस्ने २१ वर्षीय कृतिक रोका मगरलाई चक्कु प्रहार भएको प्रहरीले जनाएको छ ।

कृतिकलाई घोराहीको वडा नं. ९ बस्ने २४ वर्षीय शैलेश शाह, २५ वर्षीय मिस्चल बुढा मगर, २५ वर्षीय नवराज श्रेष्ठलाई चक्कु प्रहार गरेको अभियोगमा पक्राउ गरिएको दाङ प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तीन जनाको समूहले तिखो बस्तुले पछाडिबाट ढाडमा प्रहार गर्दा ढाडमा गहिरो चोट लागेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रारम्भीक उपचारपछि थप उपचार गर्न कोहलपुर मेडिकल कलेजमा पठाइएको छ । कोहलपुर मेडिकल कलेजमा पनि उपचार हुन नसकेपछि कृतिकलाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा लगिएको छ ।

प्रहरीले शनिबार दिउँसो लुकेर बसेको अवस्थामा घोराहीको तेघराबाट शैलेश शाह, मिस्चल बुढा मगर र नवराज श्रेष्ठलाई पक्राउ गरेको छ । उनीहरुलाई कानूनअनुसार हदैसम्मको कारबाही हुने प्रहरीले जनाएको छ ।

दाङ जिल्लामा टोले गुण्डाहरु पछिल्लो समय निकै सलबलाउन थालेका छन् । देउखुरीमा पनि टोले गुण्डाहरुले निकै जालो फिजाएका छन् । घोराहीमा टोले गुण्डाहरुले चक्कु प्रहार गरेको घटना बाहिर आएपछि शान्ति सुरक्षालाई लिए चिन्ताको विषय बनेको छ ।

देउखुरीस्थित राप्ती नदीमा गुण्डा नाइके चक्रे मिलनको नामबाट केही टोली गुण्डाहरुले निकै आतंक मच्चाइरहेका छन् । प्रहरीले ती टोले गुण्डाहरुको अपराध रोक्नेतिर पनि ध्यान दिएको छैन ।

Published : Saturday, 2023 November 18, 8:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया