नौबहिनीमा रिमाको शव भेटियो, छोरा वेपत्ता, पति पक्राउ

काठमाडौं । प्यूठान जिल्लामा २२ वर्षीया रिमा बुढा मगरको शव फेला परेको छ ।

नौबहिनी गाउँपालिका वडा नं. ३ मन्धाराकैया बस्ने रिमाको सोही ठाउँस्थित भिरेखरबारीमा शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कात्तिक २७ गते ३ वर्षीय छोरा मुस्कान बुढामगर समेतलाई लिई घरबाट गएकी उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो ।

हाल सम्पर्कमा नभएका मुस्कान बुढामगरको प्रहरीले खोजी गर्नुका साथै मृतकको श्रीमानलाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यता, काठमाडौंको नागार्जुन नगरपालिका–४ सीतापाईलास्थित सेल्सबेरी डिपार्टमेन्ट स्टोर अगाडि हाल नाम, थर, वतन नखुलेका शिव भनेर चिनिने अन्दाजी ५० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ बेशिगाउँ डेरा गरी बस्ने संखुवासभा मादी नगरपालिका–५ घर भएका ३८ वर्षीय कैलाश शेर्पा आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–३ हर्दिया बस्ने सोभा थापाको घरमा विगत ४० वर्षदेखि बस्दै काम गर्दै आएका खोटाङको खोटेहाङ गाउँपालिका–८ मुखितम घर भएका ७२ वर्षीय तिलक खड्का उक्त घरको बरण्डाको खाटमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३ सिख्रास्थित भीरमा गुल्मीको धुर्कोट गाउँपालिका–२ पिपलधारा बस्ने ३६ वर्षीय खुमबहादुर घर्ती शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

कात्तिक २९ गते आफ्नो दिदी कमला घर्तीको घर अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३ सिख्रास्थित तिहारको टीका लगाउन भनि हिँडेका उनी दिदीको घरमा नपुगेपछि खोजी गर्ने क्रममा शव फेला परेको हो ।

रूकुम पश्चिमको चौरजहारी नगरपालिका–२ बिजयश्वरी डाँडास्थित सडकमा सोही नगरपालिका–२ मुग्राखोला घर भई हाल चौरजहारी नगरपालिकामा कार्यरत कार्यालय सहयोगी ३९ वर्षीय कालु कुमाल शनिबार मृत अवस्थामा फेला परेका छन् ।

बाँकेको जानकी गाउँपालिका–२ बेलभार बस्ने ४५ वर्षीय रामदयाल पुरी आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

Published : Saturday, 2023 November 18, 8:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया