तीन महिनाको योजनापछि नेतालाई बानेश्वमा हमला, काम फत्ते गरेर फरार

काठमाडौं । नेपाल उसु महासंघको केन्द्रीय अध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) बाग्मती प्रदेश कमिटी सदस्य जनक बर्तौलालाई काठमाडौंको नयाँ बानेश्वरमा खुकुरी प्रहार गरी फरार भएका ३ जना व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कात्तिक २२ गते बानेश्वरस्थित आई प्लेक्स मल नजिक बर्तौलालाई तीन जनाको समूहले धारिलो हतियार प्रहार गरि फरार भएको प्रहरीले जनाएको छ । बर्तौला अखिल नेपाल खेलकुद महासंघको उपाध्यक्ष पनि हुन् ।

२ जना व्यक्तिहरुले धारिलो हतियार प्रयोग गरी घाइते बनाइएको घटनाको अनुसन्धानको क्रममा अभियुक्तहरुलाई घटना पश्चात सीमावर्ती इलाकामा लुकीछिपी बसेका थिए ।

गोप्य सूचना प्राप्त भएपछि जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको प्रहरी अधिकृत समेतको टोलीले स्थानीय प्रहरीको सहयोगमा इलामको पशुपतिनगर इलाकाबाट तीन जनालाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि काठमाडौं ल्याइएको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका वडा नं. १० चटार बस्ने वर्ष २४ को शेरबहादुर थारु, झापाको मेची नगरपालिका वडा नं. ८ मेचे गाउँ बस्ने वर्ष ३४ को कैलाश भन्ने टेकबहादुर प्रधान र बाँकेको कोहलपुर नगरपालिका वडा नं. १ कौशिला नगर बस्ने वर्ष २६ को आशिष लामिछने मगर रहेका छन् ।

प्रहरीले वारदातमा प्रयोग भएको खुकुरी, कपडा, जुत्ता र झोला पनि बरामद गरेको छ । वारदात पश्चात तत्काल प्राप्त हुलिया, पीडितले दिएको सूचना र अनुसन्धानका बिविध बिधि र पद्दतिमार्फत अभियुक्तहरुलाई सप्रमाण पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

अभियुक्तहरुले पीडित जनक बर्तौलालाई अनुसन्धानबाट खुल्न आएका व्यक्तिहरुको योजना सांघातिक आक्रमण गर्ने भनि ३ महिना अगाडिदेखि नै योजना बनाई पीडितको दैनिक गतिविधिको पीडित बस्ने घर, कार्यालय, जिम लगायतको निगरानी गरि उपयुक्त समय र स्थान निर्धारण गरि आक्रमण गरेको विज्ञप्तिमा उल्लेख छ ।

अभियुक्त शेरबहादुर र आशिष लामिछाने मगरले आक्रमण गर्नको निमित्त वारदात मिति र स्थानमा पुगी आक्रमण गरेको खुलेको छ । बर्तौलालाई शेरबहादुरले पछाडिबाट ३ पटक धारिलो हतियार खुकुरीले प्रहार गरेका थिए । आशिषले वरिपरिको बस्तुस्थिति निगरानी गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

आक्रमण पश्चात दुवै अभियुक्तहरु फरक फरक दिशातर्फ भागेका थिए । शेरबहादुरले अन्दाजी ५०० मिटर पश्चिम उत्तरतर्फ गई एक घरको कम्पाउण्डभित्र प्रवेश गरि वारदातको समयमा लगाएका सम्पूर्ण कपडा, जुत्ता र खुकुरी भएको झोला समेत छाडेर नयाँ कपडा लगाई फरार भएका थिए ।

अभियुक्तहरु प्रहरीको निगरानीबाट बच्नको लागि पैदल यात्रा गर्दै नयाँबसपार्क पुगेर झापा हुँदै इलामतर्फ पुगेका थिए ।

अभियुक्त टेकबहादुर प्रधानले अभियुक्तद्वय आशिष र शेरबहादुरलाई सुरक्षित गन्तव्यतर्फ लैजानको निमित्त योजनाकारहरुबाट रकम लिई सांघातिक आक्रमणको कार्य गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

पीडितलाई आक्रमण गर्ने सम्बन्धी योजनाको बारेमा ३ जना अभियुक्तहरु जानकार रहेका थिए । काठमाडौंस्थित एक होटलमा बसेर अपराध सम्बन्धी योजना बनाएका खुलेको छ ।

पक्राउ अभियुक्तहरु ३ जना सांघातिक आक्रमणको घटनाभन्दा पहिला समेत पटक पटक चोरी तथा डाँका, हातहतियार खरखजाना, लागुऔषध र ज्यान सम्बन्धी उद्योग जस्ता अपराधिक गतिविधिमा संलग्न भई सजाय समेत भुक्तान गरेको अभिलेखबाट खुल्न आएको विज्ञप्तिमा उल्लेख ।

पक्राउ परेका ३ जना व्यक्तिहरु उपर जिल्ला अदालत काठमाडौंबाट ज्यान मार्ने उद्योग कसूरमा दिन १० म्याद थप भई थप अनुसन्धान कार्य भइरहेको छ ।

Published : Saturday, 2023 November 18, 7:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया