सभापति देउवाले तिहारका अवसरमा दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालीहरुको महान चाड तिहार तथा नेपाल सम्वत्को नयाँ वर्ष ११४४ को सुखद् अवसरमा शुभकामना दिएका छन् ।

शनिबार शुभकामना सन्देश जारी गरेर सभापति देउवाले स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ, दीर्घायु, सुख, शान्ति र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

देउवाले भने, ‘नेपाल विभिन्न जात–जाति, भाषा–भाषी, धर्म, विभिन्न चाड–पर्व एवं विभिन्न संस्कृति भएको देश हो । हामीमा निहित बन्धुत्व भावले विविधता बीचमा पनि अनुपम एकता कायम गरेको छ ।’

‘तिहारले हामी बीचको एकतालाई अझ मजबूत बनाएको छ’, देउवाले भने, ‘तिहार अर्थात यमपञ्चकका हरेक दिनले समस्त नेपालीहरुमा नयाँ उमंग सिर्जना गर्न, दिदीबहिनी र दाजुभाइहरुबीच तथा आफन्तहरु बीचमा सुमधुर र सौहार्द सम्बन्ध विकसित गर्न सघाएको छ ।’

उनले भने, ‘बागमती सभ्यतालाई नेपालको भाषा, साहित्य, कला र संस्कृतिको उत्थान काल मानिन्छ । नेपाल सम्वत् त्यही जागरण कालको इतिहास र संस्कृतिको एक जीवन्त धरोहर हो ।’

‘नेपाल सम्वत्को नयाँ दिनले हरेक वर्ष हामी सबैलाई यसका प्रणेता शंखधर साख्वाः को योगदानलाई सम्झाउँछ’, सभापति देउवाले भने ।

‘यसको प्रचलन तिनै समाजसेवी साख्वाः ले सबैको ऋण मोचन गरिदिएको अति परोपकारी कार्यको सम्झनामा भएको हो’, सभापति देउवाले भने, ‘शंखधर साख्वाः लाई उहाँको उदारताको कदर गरेर, हामीले राष्ट्रिय विभूतिको रुपमा सम्मान गरेका छौं ।’

सभपाति देउवाले भने, ‘अन्त्यमा, अन्धकार विनास गर्ने उज्यालोको पर्व तिहार र हाम्रो आफ्नै धरतीबाट उठेको नेपाल सम्वत्को नयाँ दिनले हाम्रो पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन सकोस् भन्दै, तिहार तथा नेपाल सम्वत्को नयाँ वर्षको उपलक्ष्यमा म सबैमा सुख, शान्ति र समृद्धिको पुनः शुभकामना व्यक्त गर्दछु ।’

Published : Saturday, 2023 November 11, 9:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया