दाङको जंगलमा सशस्त्र प्रहरीका जवानको गोली हानी हत्या, ११ जना पक्राउ

घोराही । दाङमा सशस्त्र प्रहरी बल नेपालका जवान ३० वर्षीय जुगरु चौधरीको जंगलमा हत्या भएको प्रहरीले जनाएको छ ।

घोराही उप–महानगरपालिका–७ हनरिया बस्ने जुगरु सोही उप–महानगरपालिका–५ स्थित जनसेवा सामुदायिक वनमा बिहीबार दिउँसो मृत अवस्थामा फेला परेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । जुगरुलाई गोली लागेको छ । उनलाई शरीरका विभिन्न स्थानमा चोटपटक पनि लागेको छ । हत्याको अभियोगमा प्रहरीले ३ जना महिला र ८ जना पुरुषहरूलाई पक्राउ गरेको छ ।

वनमा मालुकाको पात टिप्न उनीसँगै ५ जना गएकोमा जुगरुलाई नदेखेपछि खोजी गर्ने क्रममा टाउको र मुखमा चोट लागि मृत अवस्थामा फेला परेका थिए ।

जुगरु मृत अवस्थामा फेला परेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङसमेतबाट खटिएको प्रहरीले घटना सम्बन्धी सोधपुछका लागि ३ जना महिला र ८ जना पुरूषलाई नियन्त्रणमा लिएको छ ।

मृतकको छातीको भागमा भरुवा बन्दुकको ५ वटा छर्रा र पिठ्युमा १ ठाउँमा प्वाल परेको देखिएको छ ।

मृतक जुगरु चौधरी सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण हेडक्वाटर तौलिहवा कपिलवस्तुमा दरबन्दी भई सोही गणमा कार्यरत सशस्त्र प्रहरी जवान भन्ने बुझिएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Friday, 2023 November 10, 12:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया