उपरथी पाण्डेको जन्ममिति विवादमा छानबिन गर्न अख्तियारको निर्देशन

काठमाडौं । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डे उमेर सम्बन्धी विवादमा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपरथी पाण्डेको उमेर विवादबारे छानबिन गर्न रक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।

आयोग स्रोतका अनुसार, सञ्चारमाध्यममा आएका विवरण र आयोगमा समेत उजुरी परेपछि पाण्डेको उमेर विवादबारे छानबिन गर्न रक्षा मन्त्रालयलाई निर्देशन दिएको हो ।

‘प्रारम्भीक अध्ययनपछि छानबिन गर्न जरुरी देखिएकाले के कसो भएको भनी छानबिन गरेर त्यसको विवरण पठाउनु भनेर मन्त्रालयलाई पत्र लेखिएको छ’, आयोग भन्यो, ‘रक्षा मन्त्रालयमार्फत जंगीअड्डामा समेत छानबिन अघि बढाउन पत्र पुगिसकेको छ ।’

मन्त्रालयका स्रोतका अनुसार उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले उक्त प्रकरणबारे छानबिन गर्न निर्देशन दिएका छन् ।

भूकम्प पीडितहरूलाई राहत तथा उद्धार कार्यको समन्वय गर्न कर्णाली प्रदेश पुगेका रक्षामन्त्री खड्का काठमाडौं फर्केपछि छानबिन अगाडि बढ्ने बताइएको छ ।

यसअघि परीक्षा नियन्त्रण कार्यालयको ढड्डामै केरमेट गरेर झण्डै दुई वर्ष उमेर घटाएको विवरण विभिन्न संचार माध्यममा प्रकाशित भएको थियो ।

लगत्तै यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको थियो ।

परीक्षा नियन्त्रण कार्यालय स्रोतबाट प्राप्त जानकारी अनुसार रजिस्टरमा सुरुमा उनको जन्ममिति १२ माघ २०२१ उल्लेख छ ।

पछि त्यसलाई केरेर २३ मंसिर २०२३ बनाउँदै उमेर घटाइएको छ ।

उपरथीको अवकाशको उमेरहद ५७ वर्ष रहेकाले पाण्डेको जन्ममिति १२ माघ २०२१ कायम हुँदा उनले १ वर्ष ९ महिना अघि नै अवकाश पाउनुपर्थ्यो ।

पाण्डेले तनहुँको चुँदीस्थित चन्द्रवती माध्यमिक विद्यालयबाट २०३८ सालमा प्रवेशिका परीक्षा दिएका थिए ।

प्रवेशिका परीक्षा दिंदा उनको जन्ममिति १२ माघ २०२१ उल्लेख थियो ।

त्यो जन्ममितिलाई उनले चार वर्षपछि २५ चैत २०४२ मा सच्याएर जन्ममिति घटाएको परीक्षा नियन्त्रण कार्यालयको विवरणमा देखिन्छ ।

त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रेसन कार्डमा पनि उपरथी पाण्डेको जन्ममिति १२ माघ २०२१ उल्लेख रहेको देखिन्छ ।

२२ साउन २०७६ मा परीक्षा नियन्त्रण कार्यालय, बल्खुले दिएको रजिष्ट्रेसन कार्डको सक्कल प्रतिको प्रतिलिपिमा उनको जन्ममिति १२ माघ २०२१ रहेको उल्लेख छ ।

भक्तपुरस्थित सुपिङ बहुमुखी क्याम्पस प्रवीणता तहको सेसन २०३९/०४१ को दर्ता किताबमा पनि पाण्डेको जन्ममिति १२ माघ २०२१ देखिन्छ । त्यसबेला उनको ठेगाना काठमाडौं–४, महाराजगञ्ज उल्लेख छ ।

पाण्डेले २६ वैशाख २०४३ सालमा आफ्नो चारित्रिक प्रमाण पत्रमा ठेगाना फरक पर्न गएको भन्दै नागरिकता अनुसार स्थायी ठेगाना सच्याइदिन भन्दै निवेदन दिएको देखिन्छ ।

त्यसबेला चारित्रिक प्रमाण–पत्र साथै अफिसको रेकर्ड नागरिकताको प्रमाण–पत्र अनुसार मिलाइदिनेभन्दै तोक आदेश भएको देखिन्छ ।

परीक्षा नियन्त्रण कार्यालयमा रहेको प्रवेशिका परीक्षा सम्बन्धी विवरणमा उनको ठेगाना सतिश्वरा–१, तनहुँ उल्लेख छ ।

‘१२ माघ २०२१ जन्ममिति कायम हुँदा उनले २०४३ सालमा अधिकृत क्याडेटमै भर्ना हुन पाउँथेनन्’, एक सैनिक अधिकृतले भने, ‘किनकि सेनामा अधिकृतमा भर्ना हुन १८ देखि २१ वर्षको समयसीमा छ ।’

यस्तै विवादमा मुछिएपछि नेपाल प्रहरीमा महानिरीक्षक बन्ने प्रतिष्पर्धामा रहेका अशोक सिंहले प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाटै १० फागुन २०७९ मा राजीनामा दिएका थिए ।

२०४३ सालमा भर्ना हुनै समस्या हुने भएपछि उपरथी पाण्डेले त्यसबेलै जन्ममिति कीर्ते गरेर जागिर खाएको हुनसक्ने अधिकृतहरु आशंका गर्छन् ।

त्यसमाथि छानबिन गर्न भन्दै प्रधानसेनापतिको कार्यालय, संसद्को राज्य व्यवस्था तथा सुशासन समिति, रक्षा र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा समेत उजुरी परेको छ ।

Published : Friday, 2023 November 10, 12:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया