जहाजबाट भारतले ल्याइदियो तेस्रो चरणमा १२ टन राहत सामग्री

काठमाडौं । भूकम्प प्रभावितका लागि भारतले नेपाललाई राहतको तेस्रो चरणको १२ टनभन्दा धेरै सामग्री ल्याइदिएको छ ।

बिहीबार राति भारतीय वायुसेनाको सी–१३० नामक विशेष जहाजमा भूकम्प पीडितका लागि तेस्रो चरणको १२ टनभन्दा बढी राहत साम्रगी लिएर नेपाल आइपुगेको भारतीय राजदूतावासले जनाएको छ ।

यी राहत सामग्रीमा कम्बल, स्लीपिङ्ग ब्याग, त्रिपाल, अत्यावश्यक चिकित्सा सामग्री आदि छन् ।

पहिलो रेस्पोन्डरको रुपमा भारतले नेपालका भूकम्प प्रभावित परिवारका लागि भारतीय वायुसेनाको विशेष विमानका तीनवटा फ्लाइटमार्फत ३३ टन आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ ।

भूकम्प प्रभावित परिवारका अत्यावश्यक आवश्यकताहरू पूरा गर्न राहत सामग्रीमा त्रिपाल, टारपोलिन सिट, कम्बल, स्लीपिङ्ग ब्याग, अत्यावश्यक औषधि र चिकित्सा उपकरणलगायत समावेश थिए ।

नेपाल भारतको घनिष्ट मित्र एवम् छिमेकी भएकोले नेपाललाई सहयोग गर्न भारत प्रतिबद्ध रहेको भारतले भूकम्पलगत्तै नेपाललाई सहयोग गर्न देखाएको तत्परताले पुष्टि गरेको भारतीय दूतावासले जनाएको छ ।

दूतावासका अनुसार नेपालको प्रमुख विकास साझेदार भएको नाताले नेपाली जनतालाई सहयोग गर्न भारत सदैव तयार छ ।

नेपाल सरकारले उपलब्ध गराएको निर्देशिका र प्राथमिकताको आधारमा भारत सरकारले नेपाललाई निरन्तर सहयोग गर्ने दूतावासले जनाएको छ ।

Published : Thursday, 2023 November 9, 11:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया