मोलङमा शेर्पाको घरमा आगलागी हुँदा ठूलो क्षति, खतिवडाद्वारा गहिरो दु:ख व्यक्त

ओखलढुंगा । ओखलढुंगा जिल्लामा घरमा आगलागी हुँदा करीव १५ लाख बराबरको क्षति भएको छ ।

मोलुङ गाउँपालिका–६ मंसिरे बस्ने कर्मा शेर्पाको घरमा बुधबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १५ लाख रूपियाँ बराबरको धनमाल नष्ट भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कर्मा शेर्पा र उनकी श्रीमती गाउँकै आफन्तकोमा गएको अवस्थामा घरमा रहेका उनका छोरा १५ महिनाको फूर्वा शेर्पा र ३ वर्षीय मिङ्मार शेर्पाले लाईटर खेलाउने क्रममा आगलागी भएको प्रहरीले जनाएको छ ।

कर्माको १५ महिनाको छोरा हालसम्म फेला नपरेकोले प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा खोजी गरिरहेको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसैबीच, प्रतिनिधिसभाका सांसद समेत रहेका नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले आगलागीबाट भएको नोक्सानी र क्षतिप्रति गहिरो दु:ख व्यक्त गरेका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका खतिवडाले हराइरहेका १५ महिनाका बालकको खोजीका लागि सुरक्षा निकायसँग अनुरोध गरेका छन् ।

Published : Thursday, 2023 November 9, 11:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया