सामाजिक सञ्जालमा अब के–के गर्न पाइन्छ ? के–के गर्न पाइँदैन ?

काठमाडौं । कम्युनिस्ट अर्थात् नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारले सामाजिक सञ्जाल प्रयोगमा नियन्त्रण गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले ‘सामाजिक सञ्जाल संचालन निर्देशिका, २०८०’ पारित गरेर सामाजिक सञ्चालनमा नियन्त्रण गरेको हो ।

सामाजिक संजालहरू फेसबुक, एक्स (ट्वीटर), टिकटक, युट्यूब, इन्स्टाग्रामलगायतमा राखिने सामग्री विकृत भएको भन्दै सरकारले निर्देशिका ल्याएको छ ।

निर्देशिकाले नेपालमा संचालन हुने सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ । अबदेखि बेनामे वा छदमभेषी पहिचान (फेक आइडी) सिर्जना गर्न पाइनेछैन ।

बेनामे वा छदमभेषी पहिचान (फेक आइडी) मार्फत विषयवस्तु (कन्टेन्ट) उत्पादन गरी सेयर गर्ने वा अरूको विषयवस्तु (कन्टेन्ट) सेयर गर्ने वा टिप्पणी (कमेन्ट) व्यक्त गर्न वा कल गर्न पाइनेछैन ।

कुनै समुदाय, जातजाति, लिंग, धर्म, उमेर, वर्ण, वर्ग, पेशा, सम्प्रदाय, वैवाहिक अवस्था, पारिवारिक अवस्था, शारीरिक तथा मानसिक अवस्था, उत्पत्ति, यौनिक अल्पसंख्यक, भाषाभाषी तथा कानूनले संरक्षण गरेका अन्य समूह वा वर्गलाई लक्षित गरी घृणा फैलाउने, सामाजिक सद्भाव र सहिष्णुतामा आँच आउने प्रकृतिका अभिव्यक्ति दर्शाउने शब्द, श्रव्य दृश्य, तस्बिर सेयर गर्ने एवम् ट्रोल बनाइ प्रकाशन र प्रसारण गर्न पाइनेछैन ।

बालश्रम, मानव बेचबिखन, बहुविवाह, बालविवाह जस्ता क्रियाकलाप गर्न प्रोत्साहित गर्न पाइनेछैन ।

अरूलाइ होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृश्य, तस्बिर, ट्रोल बनाइ घृणायुक्त अभिव्यक्ति, गाली बेइज्जती गर्न, हेट स्पीच वा हेट स्पीच मानिने कार्य गर्न (स्पष्टीकरण : हेट स्पीच भन्नाले पोष्ट, सेयर वा कमेन्ट गरेको विषयले व्यक्ति, समूह वा समुदायमा हिंसा फैलने, सामाजिक सदभाव बिग्रने जस्ता दुष्परिणाम निस्कन सक्ने खालका आवाज, शब्द, तस्बिर, भिडियोलाई सम्झनुपर्छ) गर्न पाइनेछैन ।

डिजिटल माध्यमको प्रयोगबाट कुनै व्यक्तिको तस्बिर विकृत रुपले परिमार्जन गरी प्रकाशन वा प्रसारण गर्न पाइनेछैन । सार्वजनिक प्रकृतिका बाहेक निजी मामिलाका फोटो भिडियो अनुमतिबिना खिचेर प्रकाशन र प्रसारण गर्न पाइनेछैन । अश्लील शब्द, तस्वीर, भिडियो, अडियो एनिमेसन प्रसारण, प्रकाशन, टिप्पणी गर्न पाइनेछैन ।

बालबालिकालाई हानी पुर्‍याउने सामग्री तथा बालयौन शोषण, यौन दुर्व्यवहार, देह व्यापार जस्ता निषेधित क्रियाकलापलाई प्रोत्साहन गर्न पाइनेछैन । मित्थ्या सूचना, भ्रामक सूचना, दुष्प्रचार, सूचना तोडमरोड प्रकाशन वा प्रसारण गर्न पाइनेछैन ।

साइबर बुलिङ मानिने कार्य गर्न, (स्पष्टीकरण : साइबर बुलिङ भन्नाले प्रविधिको प्रयोगमार्फत अन्य व्यक्तिलाई हतोत्साहित बनाउने, धम्क्याउने, हैरान पार्ने, गालीगलौच गर्ने, गलत सूचना स्प्रेषण गर्ने जस्ता कार्य सम्झनुपर्छ) पाइनेछैन ।

निर्देशिकाअनुसार लागुऔषध सेवनको प्रोत्साहन तथा कारोबार गर्न, गराउन पाइनेछैन । जुवा खेलाउने वा जुवा खेल्न प्रोत्साहन गर्न पाइनेछैन ।

आतंकवाद सम्बन्धी विषयवस्तुको प्रकाशन वा प्रसारण गर्न पाइनेछैन । सामाजिक सञ्जाल प्रयोग गरी कसैको आइडी तथा सूचना ह्याक गर्न पाइनेछैन ।

सामाजिक सञ्जाल प्रयोग गरी फिसिङ, इम्पोस्टर जस्ता कार्य गर्न पाइनेछैन । विभत्स तस्बिर, भिडियो कुनै सन्दर्भबिना नै पोस्ट वा सेयर गर्ने पाइनेछैन ।

प्रचलित कानूनले निषेध गरेका वस्तुहरूको विज्ञापन तथा कारोबार गर्न पाइनेछैन । प्रचलित कानूनले निषेध गरेका कृयाकलापहरू नक्कल गर्न तथा सेयर गर्न पाइनेछैन ।

निर्देशिकाभन्दा बाहिर गएर सामाजिक सञ्जाल प्रयोग गरिएमा कानून बमोजिम कारबाही हुनेछ ।

Published : Thursday, 2023 November 9, 8:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया