राहत वितरणमा ढिलाइ भएको भन्दै सभापति खतिवडा चिन्तित, दुर्गममा छिटो पुग्न आग्रह

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा नेतृत्वको संसदीय टोलीले भूकम्प प्रभावितको उद्धार, राहत र पुनर्स्थापनामा भइरहेका सरकारी प्रयासका बारेमा अनुगमन गरेको छ ।

बुधबार काठमाडौंबाट जाजरकोट र रुकुम पश्चिम पुगेको संसदीय टोलीले स्थानीय प्रशासन, राजनीतिक दल, भूकम्प प्रभावित लगायतसँग उद्धार, राहत वितरण र पुनर्स्थापनामा भइरहेका प्रयासहरूका बारेमा जानकारी लिएको सभापति खतिवडाले बताए । उनले राहतलाई एकद्वार प्रणालीमार्फत तथ्याङ्क राखेर वितरण गर्न आग्रह गरे ।

आफ्नै निजी खर्चमा भूकम्प प्रभावित क्षेत्रको अनुगमनमा जाजरकोट र रुकुम पश्चिम आइपुगेको संसदीय टोलीले राहत वितरण र पुनर्स्थापनाका बारेमा विशेष ध्यान दिनेछ ।

खतिवडाले सुरक्षाकर्मीले भूकम्प प्रभावितहरूको उद्धार लगायतका कार्यमा देखाएको तदारुकताको निकै प्रशंसा गरेका छन् ।

सभापति खतिवडाले भने, ‘राज्यका संरचना, सुरक्षाकर्मी, स्थानीयहरू लगायतको विशेष पहलमा उद्धारको काम सन्तोषजनक पाएका छौँ । राहत वितरणमा केही बिलम्ब देखिएको छ । पुनर्स्थापनाको काम छिटोभन्दा छिटो हुनुपर्छ ।’

सभापति खतिवडाले दुर्गम अर्थात मोटर जान नसक्ने गाउँका जनतासम्म राहत पुर्‍याउने व्यवस्था गर्न आग्रह गरेका छन् । उनले राहत वितरणमा कुनै पनि भेदभाव नगरी समयमा उपलब्ध गराउन सरकारी निकायलाई निर्देशन दिएका छन् ।

चिसो बढेकाले स्थानीयलाई सुरक्षित ठाउँमा राख्न खतिवडाले आग्रह गरेका छन् । भूकम्पपछि स्वास्थ्यका विषयमा विशेष ध्यान दिनुपर्ने भन्दै खतिवडाले महामारी फैलन सक्ने विषयमा पनि सरोकारवाला निकाय सचेत रहनुपर्ने बताए ।

Published : Wednesday, 2023 November 8, 10:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया