खानीबाट अर्थतन्त्र सुधारमा अर्थमन्त्रीलाई क्रसर व्यवसायी महासंघका अध्यक्ष न्यौपानेको सुझाव

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतसँग नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सीताराम न्यौपानेले भेट गरेर व्यवसायीहरूका माग र अर्थतन्त्र सुधारका विषयमा विभिन्न सुझावहरू दिएका छन् ।

बुधबार बिहान काठमाडौंको महाराजगञ्ज, धापासीस्थित निवासमा भेट गरेर अध्यक्ष न्यौपानेले क्रसर व्यवसायीका माग र खानीजन्य उद्योगबाट सरकारको अर्थतन्त्र सुधार गर्न सुझाव दिएका हुन् । क्रसर तथा खानी उद्योगीहरूका मागप्रति सरकारले सहयोग गर्नुपर्ने र अर्थमन्त्रीले नै पहल गरेर प्रधानमन्त्री तथा उद्योगमन्त्रीसँग संयुक्त बैठकको लागि पहल गर्न आग्रह गरेको अध्यक्ष न्यौपानेले बताएका छन् ।

अर्थमन्त्री डा.महतले क्रसर तथा खानी उद्योग व्यवसायीहरूको जायज माग पूरा गर्ने विषयमा आफू सकारात्मक रहेको र सहयोग गर्ने प्रतिवद्धता जनाएको अध्यक्ष न्यौपानेले बताएका छन् ।

न्यौपानेले भने, ‘अर्थमन्त्री डा.प्रकाशशरण महतज्यूले व्यवसायीका मागका विषयमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

संसदमा पुगेको क्रसर तथा खानी उद्योगसम्बन्धी विधेयकमा पनि सहयोग गर्ने आश्वासन दिनुभएको छ ।’

अध्यक्ष न्यौपानेले क्रसर तथा खानी उद्योगका विषयमा सरकारबाट व्यवसायीहरूले सहयोगको अपेक्षा लिएको बताए ।

आन्तरिक कच्चा पदार्थमा आधारित उद्योगहरूको उत्पादनलाई बजारीकरण गरेर राजस्व प्राप्त गर्ने विदेशी मुद्रा प्राप्त गरि बजारलाई चलायमान गराउन सकिने विषयमा अर्थमन्त्री डा.महतलाई सुझाव दिएको अध्यक्ष न्यौपानेले बताए ।

उनले भने, ‘आर्थिक सुधार तथा कानून संशोधन गर्न उच्चस्तरीय समिति दीर्घकालीन हुने गरि क्याबिनेट वा संसदबाट गठन गर्न सुझाव दिएको छु ।’

‘बिक्री गर्ने वस्तुहरू खनिजजन्य वा नदीजन्य ढुंगा, बालुवा, गिट्टीहरू प्रशोधन गरि आन्तरिक आवश्यक्ता पूरा भएपछि विदेश निकासी गर्न सुझाव दिएको छु’, उनले भने ।

न्यौपानेले अर्थमन्त्री डा.महतसँगको कुराकानी उदृत गर्दै भने, ‘काठ, दाउरा, बन क्षेत्रमा रहेका विभिन्न काठ दाउरा आन्तरिक खपत गरि औद्योगिक उत्पादन गरि फर्निचर, मूर्तिकला सजावका सामनाहरू निकासी गर्न सुझाव दिएको छु ।’

‘खानी क्षेत्रबाट खनिजजन्य चुन ढुंगा प्रशोधन गरि कृषि चुन ढुंगाको धुलो कुखुराको दाना बनाउने ढुंगा स्लेट ढुंगाका टायल औद्योगिक उत्पादन गरि विदेश निकासी गर्न सुझाव दिएको छु’, उनले भने ।

‘पर्यटन विकासको लागि प्रत्येक जिल्लाको गाउँपालिका नगरपालिका क्षेत्रमा सम्भाव्यता अध्ययन गर्ने र पूर्वाधार तयार गर्नका लागि निजी क्षेत्र वा वैदेशिक लगानी जुटाउन तथा कार्यान्वयन गर्न गठन हुने समितिले एकद्वार प्रणालीको आधार तयार गरि सबै क्षेत्रको आर्थिक रुपान्तरणका लागि समितिले सरकारलाई प्र्रस्ताव पेश गर्ने सुझाव दिइएको छ’, अध्यक्ष न्यौपानेले भने ।

क्रसर तथा खानी उद्योगका विषयमा सरकारले विधेयक ल्याएको छ । सो विधेयकमा व्यवसायीहरूले विभिन्न सुझावहरू दिँदै आएका छन् । संसदीय समिति र संसदबाट पारित हुनुभन्दा अगाडि अर्थतन्त्र र व्यवसायीको हितमा हुने गरेर जान महासंघले सुझावहरू दिनुका साथै लबिङ गर्दै आएको छ ।

Published : Wednesday, 2023 November 8, 12:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया