संसदीय समितिले आफ्नै खर्चमा अनुगमन गर्ने, राहत वितरणमा असर नपार्ने

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आफूहरूको भ्रमणबाट भूकम्प प्रभावितहरूको राहत वितरण कार्यमा कुनै असर नपर्ने बताएका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत सभापति खतिवडाले समितिका सबै सदस्यहरू आफ्नै निजी खर्चमा जाजरकोट र रुकुम पश्चिम जान लागेको बताए । उनले संसदीय समितिले भूकम्प प्रभावितको उद्धार, राहत वितरण र पुनर्स्थापनामा भइरहेका कार्यहरूको अनुगमन गर्नेछ ।

उनले भने, ‘संसदको राज्यव्यवस्था तथा सुशान समितिका तर्फबाट हामी बुधबार जाजरकोट र रुकुम पश्चिम जाँदै छौं । हाम्रो भ्रमणबाट भूकम्पपीडित आदरणीय जनसमुदायलाई राहत बितरण कार्यमा कुनै असर पर्ने छैन ।’

‘राज्यसंयन्त्रको काम कारबाही प्रभावित नहुने गरी आफ्नै खर्चमा त्यहाँको बस्तुस्थिति बुझेर हामी फर्किने छौं’, सभापति खतिवडाले भने ।

‘कमीकमजोरी बारे सरकारलाई निर्देशन दिनेछौँ’, सभापति खतिवडाले भनेका छन् ।

समितिका सभापति खतिवडाको नेतृत्वमा सांसदहरू गगन थापा, विश्वप्रकाश शर्मा, हृदयराम थानी, कृष्णगोपाल श्रेष्ठ, रवि लामिछाने, बुद्धिमान तामाङ, सर्वेन्द्रनाथ शुक्ल, चित्रबहादुर केसीलगायत जानेछन् ।

Published : Tuesday, 2023 November 7, 11:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया