सर्वोच्चमा सात न्यायाधीश रिक्त र सांसदहरूबारे न्यायाधीश सपना प्रधानको यस्तो छ टिप्पणी

काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले सर्वोच्च अदालतमा सात जना न्यायाधीश रिक्त हुँदा पनि नियुक्तमा ध्यान नदिएकोप्रति असन्तुष्टि जनाएकी छिन् ।

मंगलबार काठमाडौंमा नेपाल कानून समाजले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले न्यायाधीश नियुक्तमा कसका कारण ढिलाइ भएको हो भनेर प्रश्न उठाएकी छिन् । उनले सो विषयमा आफूले टिप्पणी धेरै नगर्ने बताइन् ।

उनले भनिन्, ‘अहिले २१ जनामा अदालतमा हेर्ने हो भने त सात वटा सर्वोच्चमा खाली छ । सबैभन्दा बढ्ता लोड अदालतमा छ । को जिम्मेवार भनेर म त्यसमा जान चाहन्न ।’

सर्वोच्च अदालतमा सात जना न्यायाधीशहरू रिक्त रहेको लामो समय भइसकेको छ । तर, नियुक्तिका विषयमा सरकारले चासो दिएको छैन ।

न्यायपरिषदले पनि न्यायाधीश नियुक्तमा जोडबल नगरेको भनेर आलोचना भइरहेका बेला सर्वोच्च अदालतकी न्यायाधीश मल्लले असन्तुष्टि जनाएकी छिन् ।

यसैबीच, न्यायाधीश मल्लले प्रतिनिधिसभाबाट कानून बनाउन नसकेर सांसदहरूले सदन अन्त्य गरेकोमा पनि आलोचना गरेकी छिन् ।

उनले भनिन्, ‘होल सेसनमा पार्लियामेन्टले कानून बनाउने जिम्मेवारी भएको निकायले एउटा मात्रै बनाएको भन्ने कुरा बाहिर आएको छ ।’

‘कानून त हुनु पर्‍यो नि ? जस्टिस ल र गुड ल त हुनु पर्‍यो नि ? हामी सबैले आफ्नो आफ्नो भूमिका कसरी निर्वाह गरिरहेका छौँ भन्ने कुरा महत्वपूर्ण छ’, उनले भनेकी छिन् ।

उनले भनिन्, ‘राजनीतिक प्रोशेसले गर्दाखेरी निर्णय नगर्ने निर्णयबाट भाग्ने । कति त निर्णय गरेर संविधान र कानूनको मान्यताअन्तर्गत निर्णय गरेर जानुपर्छ । फैसला हेर्नुपर्छ ।’

अन्तरक्रिया कार्यक्रममा सर्वोच्च अदालतका पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठ, नेपालका लागि फिनल्याण्डकी राजदूत रीना–रीक्का हेइक्का, नेपाल सरकारका पूर्वमुख्यसचिव तीर्थमान शाक्य, नेपाल ल सोसाइटीका कार्यकारी निर्देशक तथा अधिवक्ता कृष्णमान प्रधान लगायतको उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2023 November 7, 9:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया