भूकम्प प्रभावितलाई सशस्त्र प्रहरीले बनाइदियो बस्ने ठाउँ, दियो सामग्रीहरू

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले विपद्को समयमा प्रभावितहरूको लागि प्रयोग गरिने ५ वटा डिजास्टर रिलिफ सिस्टम कन्टेनर भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ ।

भूकम्पबाट प्रभावित सोही जिल्ला र रुकुम पश्चिमका नागरिकहरूको राहतको लागि डिआरएस कन्टेनर शनिबार त्यसतर्फ पठाइएको थियो ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट जाजरकोटको लागि ३ वटा र नं. २९ ज्वालामाई गण दाङबाट २ वटा कन्टेर रुकुम पश्चिमको लागि पठाइएको छ ।

ती कन्टेनरमा उपलब्ध साधनश्रोतबाट सम्बन्धित क्षेत्रहरूमा अस्थायी बसोबासको लागि संरचना निर्माण भईसकेका छन् ।

जाजरकोट जिल्लाको भेरी नगरपालिकास्थित त्रिभुवन उच्च माध्यमिक विद्यालय र सोही नगरपालिका–१ रावतगाउँमा अस्थायी संरचना निर्माण भईसकेका छन् ।

रुकुम पश्चिमको सानोभेरी गाउँपालिकामा समेत अस्थायी संरचना निर्माण भईसकेको छ ।

नेपालस्थित अमेरिकन राजदूतावासबाट सहयोग स्वरुप प्राप्त भएको ३३ वटा डिआरएस कन्टेनरमध्ये ३ वटा जाजरकोट र २ वटा रुकुम पश्चिममा पठाइएको छ ।

बाँकी २८ वटा कन्टेनर ७ वटै प्रदेशस्थित सशस्त्र प्रहरी बल, नेपालको बाहिनी मुख्यालय र मातहतका युनिटहरूमा विपद्को समयमा छिटोभन्दा छिटो प्रयोग गर्न सकिने गरी सुरक्षित भण्डारण गरी राखिएको छ ।

एउटा डिआरएस कन्टेनरमा एक सय जनाको लागि खाद्यान्न बाहेक सम्पूर्ण बन्दोबस्तीका सामान तयारी अवस्थामा राखिएको हुन्छ । जसमा टेन्ट, भाडाकुँडा लगायतका सामाग्री हुन्छन् ।

आइतबार नै नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्रद्वारा उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार उपत्यका गण सिनामंगल र नं. २२ गुहेश्वरी गण भक्तपुरमा सुरक्षित भण्डार गरी राखिएका १० हजार ७ सय थान टेन्टसहितको तीन वटा कन्टेनर समेत सशस्त्र प्रहरी बल नेपालको सुरक्षामा भूकम्प प्रभावित क्षेत्रमा पठाइएको छ ।

Published : Tuesday, 2023 November 7, 12:02 am

फेसबुकबाट तपाईको प्रतिक्रिया