कर्मचारी संगठनका सदस्यहरूले भूकम्प प्रभावितलाई पारिश्रमिक दिने

काठमाडौं । नेपाल राष्ट्रिय कर्मचारी संगठनका प्रत्येक सदस्यले आफ्नो दुई दिनको पारिश्रमिक जाजरकोट भूकम्प पीडितलाई दिने भएका छन् ।

काठमाडौंमा सोमबार बसेको संगठनको केन्द्रीय कार्यालयको आकस्मिक बैठकले भूकम्प प्रभावित जनताको राहत तथा पुनर्स्थापनाका लागि सदस्यहरूको पारिश्रमिक सरकारी राहत कोषमा पठाउने निर्णय गरेको हो ।

‘प्रत्येक सदस्यबाट कम्तिमा दुई दिनको पारिश्रमिक अनिवार्य रुपमा र शुभेच्छुकहरूबाट स्वेच्छिक रुपमा केन्द्रीय समिति, प्रदेश समिति, विभागीय/जिल्ला समितिले तोकेको खातामा जम्मा गरि केन्द्रीय समितिले महासंघमार्फत सरकारी राहत कोषमा दाखिला गर्ने निर्णय गरियो’, अध्यक्ष अम्बादत्त भट्टले भने ।

उनकाअनुसार बैठकले भूकम्प प्रभावित क्षेत्रमा देखिएको मानव स्वास्थ्य तथा पशु स्वास्थ्यको जीवन रक्षाको लागि स्वास्थ्य विभाग तथा कृषि विभागसँग समन्वय गरि स्वास्थ्य सामग्री तथा स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा पठाउने निर्णय गरेको छ ।

भूकम्पमा निधन भएका मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै बैठकले राष्ट्रिय शोकको रुपमा शोक प्रस्ताव पारित गरेको छ ।

सात दिनसम्म संगठनका सार्वजनिक कार्यक्रम स्थगित गरि राहत संकलनको काम तीव्र रुपमा सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष भट्टले बताए ।

बैठकले भूकम्प प्रभावित क्षेत्रमा असहाय परिवारलाई तत्कालको गाँसबास सम्बन्धि राहत प्रदान गर्न केन्द्रीय सचिव एवम् कर्णाली प्रदेश इन्चार्ज नवीनकुमार शाहीलाई पठाउने निर्णयसमेत गरेको छ ।

बैठकले ‘प्राकृतिक विपत्ति राहत तथा पुनस्र्थापना कोष’ स्थापना गरी सम्पूर्ण संघ संस्था तथा आम नेपाली जनतासमेतको सहभागितामा एकद्वार प्रणालीबाट राहत वितरण गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

Published : Monday, 2023 November 6, 10:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया