लुम्बिनीमा ‘कथिन चिवर दान’ उत्सव

लुम्बिनी । लुम्बिनीस्थित राजकीय बुद्ध विहारमा सोमबार ‘कथिन चिवर दान’ उत्सव भएको छ ।

भिक्षुहरूको विनय अनुसार असार पूर्णिमादेखि आश्विन पूर्णिमासम्म तीन महिनासम्म वर्षाबास बसेका उपासक उपासिका तथा दाताबाट भिक्षुलाई नयाँ चिवर उपहार स्वरुप प्रदान गरेर कथिन चिवरदान उत्सव गरिएको हो ।

लुम्बिनी साँस्कृतिक नगरपालिकाकी मीना गुप्ता र तौलिहवाका विजयलक्ष्मी गुप्ताले कथिन चिरवदान गरेका हुन् ।

बौद्धभिक्षु उपसम्पन्न भएपछि तीन महिनासम्म ध्यानज्ञानमा बसेपछि समाजले हेर्षोउल्लासका साथ कथिन चिवरदानलाई उत्सवका रुपमा मनाउने गरिन्छ ।

शाक्यमुनि गौतमबुद्ध पनि वर्षावास बसेको अनुयायीद्वारा विश्वास गरिन्छ । बौद्धधर्ममा लाग्नका लागि सम्बन्धित नीति नियमको पालना गरी विभिन्न अभ्यास गर्नुपर्ने हुन्छ ।

चिवरदान कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बुद्धका उपदेशहरूको पालना गर्दै लुम्बिनीमा यस्ता धार्मिक गतिविधिले समुदायलाई जोड्ने काम गरेको बताए ।

राजकीय बुद्ध विहार लुम्बिनीका प्रमुख स्थविर भन्ते सागरधम्मले धर्मदेशना दिँदै ‘कथिन चिवर दान’ बौद्ध भिक्षु उपसम्पन्न गरेपछि वरिपरिको जनसमुदायले सफलताको शुभकामना दिई सँगै उत्सव मनाउने अवस्थाका रुपमा बुझ्नुपर्ने बताए ।

उनले यस्ता उत्सवले सबै धर्मका समुदायलाई जोड्न सक्ने बताए । दानशील र भावनाको विकास गराउँदै चिवरदान उत्सवले परम्परासँगै जीवन बदल्ने संस्कार समेत भएको स्थविर भन्ते सागरधम्मले बताए ।

श्रीलंकन विहारबाट केन्द्रीय नहर, शान्तिदीप हुँदै राजकीय बुद्धविहारसम्म र्‍याली निकालिएको थियो ।

Published : Monday, 2023 November 6, 10:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया