आफ्नै खर्चमा राज्य व्यवस्था समिति भूकम्प प्रभावित क्षेत्रमा जाने, टोलीमा खतिवडा, गगन, विश्व, रविहरू रहने

काठमाडौं । भूकम्प प्रभावित जिल्लामा भइरहेको उद्धार, उपचार र राहतको अवस्थाबारे बुझ्न प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको टोली जाजरकोट र पश्चिम रुकुम जाने भएको छ ।
समितिका सभापति रामहरि खतिवडा नेतृत्वको ९ सदस्यीय टोली बुधबार जाजरकोट र रुकुम पश्चिम जाने तयारी गरेको छ । टोली आफ्नै निजी खर्चमा अनुगमनका लागि जानेछ ।
सोमबार समितिका सभापति खतिवडाले सभामुख देवराज घिमिरेसँग संसद सचिवालय सिंहदरबारमा भेट गरेर भूकम्पपीडितको अवस्था बुझ्न जाने प्रस्ताव गरेका थिए । घिमिरेले खतिवडा नेतृत्वको संसदीय टोलीलाई भूकम्प प्रभावित जिल्लामा प्रस्थान गर्न अनुमति दिएका छन् ।
अनुगमनका क्रममा संसदीय टोलीले राज्य कोषबाट भ्रमण भत्ता लगायतका अतिरिक्त सेवा सुविधा नलिने सभापति खतिवडाले बताएका छन् ।
समिति सभापति खतिवडाले अनुगमन टोली सर्वपक्षीय हुने जानकारी दिएका छन् ।
अनुगमनमा समिति सभापति खतिवडासँगै सांसदहरू गगन थापा, विश्वप्रकाश शर्मा, हृदयराम थानी, कृष्णगोपाल श्रेष्ठ, रवि लामिछाने, बुद्धिमान तामाङ, सर्वेन्द्रनाथ शुक्ल, चित्रबहादुर केसीलगायत जाने निर्णय भएको छ ।
सभापति खतिवडाले जहाज तथा यातायात खर्च समेत व्यक्तिगत तवरबाटै गर्ने जानकारी दिएका छन् ।
सभापति खतिवडाले सानो र छरितो टिम आफ्नै खर्चमा अनुगमनमा जाने निर्णय लिएका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया