बबाल गर्ने पत्रकारहरू धमला, तिवारीपछि प्रेस काउन्सिलले शाहीलाई सबक सिकायो

काठमाडौं । पत्रकार आचारसंहिता विपरित प्रस्तुत भएको भन्दै प्रेस काउन्सिल नेपालले स्पेस फोके टिभीका पत्रकार कपिल शाहीलाई सोधपुछ गरेको छ ।

सोमबार काउन्सिलले पत्रकार शाहीलाई सोधपुर र स्पष्टीकरण लिएको छ । शाहीले पत्रकार हुँ भनेर पत्रकार आचारसंहिता विपरित निकै अभद्र गतिविधि गरेको काउन्सिलको भनाइ छ ।

रेल विभागमा रिपोर्टिङ गर्ने क्रममा स्पेस फोके टिभीका पत्रकार शाहीले कर्मचारीलाई थर्काउने र अशिष्ट व्यवहार गरेका थिए । अशिष्ट व्यवहार गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

विभागका कर्मचारीमाथि जबर्जस्ती गरिएको भिडियोले पत्रकारिताको बेइज्जत भएको भन्दै कारवाही हुनुपर्ने आवाज उठेको थियो ।

काउन्सिलले विवादास्पद कार्यक्रम सार्वजनिक गरेलगत्तै शाहीलाई कार्यालयमा बोलाएर स्पष्टीकरण सोधेको छ । शाहीको प्रश्न सोध्ने शैली, प्रस्तुति, भाषाका सम्बन्धमा काउन्सिल पदाधिकारीले सम्झाएका छन् ।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले हातमा बुम र क्यामेरा बोक्दैमा पत्रकारलाई सबै कुराको छुट नहुने भन्दै मर्यादित र जिम्मेवार हुन सबैलाई आग्रह गर्दै आएका छन् ।

काउन्सिलले पछिल्लो समय अनलाईनमार्फत चल्ने टिभी र यूट्युब च्यानललाई विशेष निगरानी गर्दै आएको छ ।

काउन्सिल समक्ष पत्रकार शाहीले आफूले गलत गरेको, आइन्दा नदोहोर्‍याउने भनेर माफी मागेको काउन्सिल स्रोतले जनाएको छ ।

छलफलमा शाहीलाई काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत, पत्रकार महासंघ अध्यक्ष विपुल पोखरेल, काउन्सिल सदस्य ठाकुर बेल्वासे, आचारसंहिता महाशाखा प्रमुख रामशरण बोहोरासहितले विभिन्न प्रश्न सोध्दै सचेत गराएका छन् ।

प्रेस काउन्सिलले यसअघि पनि आचारसंहिता उल्लंघन गरेको भन्दै पत्रकार ऋषि धमला, माधव तिवारीसहितलाई अनुशासनका विविध कारवाही गरिसकेको छ ।

कतिपय पत्रकारलाई काउन्सिलले कार्यालयमै बोलाएर आचारसंहिता कक्षामा सहभागी गराउँदै आएको छ । जथाभावी लेख्ने, बार्गेनिङ गर्ने यूट्युबसहितलाई काउन्सिलले प्रहरीसहितसँग समन्वय गरी विभिन्न कारवाही गर्दै आएको छ ।

Published : Monday, 2023 November 6, 8:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया