भूकम्पमा सहयोग गर्न कांग्रेसद्वारा गगन-विश्वको समिति गठन, शेर्पा र राजभण्डारीले दिए ठूलो रकम

काठमाडौं । नेपाली कांग्रेसले जाजरकोट जिल्लालाई केन्द्र विन्दु बनाएर गएको भूकम्प र जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गरेको छ ।

आइतबार काठमाडौंको धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको कार्यसम्पादन समितिको बैठकले कांग्रेसले भूकम्पबाट प्रभावितलाई उद्धार, राहत र पुनस्थापनाको लागि सरकारसँग माग गरेको छ ।

कांग्रेसले राहत वितरणमा पक्षपात र अनियमितता नहोस् भनेर अनुरोध पनि गरेको छ । राहत वितरण र पुनर्स्थापनामा अति विपन्नमाथि कतै अन्याय हुन्छ कि भनेर कांग्रेसले चिन्ता पनि जनाएको छ ।

पुनर्वासको कार्यक्रम र राहतको कार्यमा अति विपन्नहरू कतै ओझेलमा पर्छन् कि भनेर कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको संयोजकत्वमा विपत व्यवस्थापनका सँगसँगै सबैै कामहरू गर्ने गरी विपत व्यवस्थापनमा अनुगमन तथा सहजीकरण समिति गठन गरेको नेता मीनबहादुर विश्वकर्माले बताएका छन् ।

त्यो समितिले सबै संयन्त्र परिचालन र राज्यसँग समन्वय गर्नेछ । समितिले पार्टी पंक्ति परिचालन पनि गर्नेअधिकार पाएको छ ।

कांग्रेसले यसअघि शनिबार नै सरकारको विपत व्यवस्थापन तथा राहत कोषमा ५० लाख दिन घोषणा गरिसकेको छ ।

कांग्रेसले नेता कार्यकर्ताबाट जम्मा भएको ५० लाखमा थप रकम संकलन गरेर सरकारमार्फत भूकम्प प्रभावित जिल्लाका पीडित जनतालाई उपलब्ध गराउने निर्णय गरेको विश्वकर्माले बताए ।

कांग्रेसले पार्टीको विपत व्यवस्थापन कोषमा सहयोगका लागि आह्वान गरेको छ । सोही आह्वान अन्तर्गत केन्द्रीय सदस्य जीपछिरिङ लामाले ११ लाख र संविधान सभा सदस्य दीव्यमणि राजभण्डारीले ५ लाख सयहयोग गरेका छन् ।

उद्धारमा खटिएकाहरूलाई कांग्रेसले तीन तहको सरकार, सुरक्षाकर्मी, स्थानीय जनता र स्वयम् सेवकहरूलाई धन्यावाद दिएको छ ।

Published : Sunday, 2023 November 5, 12:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया