भूकम्पमा ज्यान गुमाउँदै गर्दा कांग्रेसकी सरिताले नलगाडलाई एक्स-रे मेसिन दिइन्

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले जाजरकोटको नलगाड नगरपालिकालाई एक्स–रे मेसिन दिने बताएका छन् ।

मन्त्री बस्नेतले सामाजिक सञ्जालमार्फत उप–मेयर सरिता सिंहको मागअनुसार नलगाड नगरपालिकालाई एक्स–रे मेसिन दिन लागेको जनाएका छन् ।

भूकम्पमा परेर उप–मेयर सिंहको शनिबार राति निधन भएको छ । उप–मेयर सिंहले नलगाड नगरपालिकाका जनताको स्वास्थ्य उपचारमा सहयोग पुगोस् भनेर स्वास्थ्यमन्त्री बस्नेतलाई मन्त्रालयमा भेट गरी मिति २०८०/०७/१० गते एक्स–रे मेसिन माग गरेकी थिइन् ।

उनले एक्स–रे मेसिन माग गरेपछि मन्त्री बस्नेतले तोक लगाएर एक्स–रे मेसिन दिनका लागि प्रक्रियामा निवेदन राखेका थिए ।

मन्त्री बस्नेतले भने, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भेट गरि जाजरकोट जिल्ला नलगाड नगरपालिका प्राथमिक स्वास्थ्य केन्द्रको लागि एक्स–रे मेसिनको माग गर्नुभएको कुरा सम्झदा म स्वयंको आँखा रसाइरहेको छ ।’

‘यस दु:खद् क्षणमा पुन: उहाँका प्रती भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त उहाँका परिवारजन र आफन्तजनहरूमा गहिरो समवेदना व्यक्त गर्दछु’, उनले भने ।

मन्त्री बस्नेतले भने, ‘जनसेवामा सदैव समर्पित स्वर्गीय सरिता सिंह ठकुरीले दर्शाउनु भएको आवश्यकता बमोजिम नलगाड नगरपालिका प्राथमिक स्वास्थ्य केन्द्रको लागि एक्स–रे मेसिन यथाशीघ्र उपलब्ध गराउने प्रतिबद्धतासहित अकल्पनीय क्षति बेहोर्न विवश जाजरकोट र रुकुमका पीडित जनसमुदायको उद्दार, राहत र पुननिर्माणमा व्यक्तिगत तर्फबाट र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट कुनै कसर बाँकी नराखी कार्य सम्पादन गरिने कुराको सम्बन्धित सबैमा जनकारी गराउन चाहन्छु ।’

नेपाली कांग्रेसबाट टिकट लिएर नलगाड नगरपालिकाको उप–मेयरमा निर्वाचित भएकी सिंहले जनताको कामप्रति आफूलाई सधैँ सक्रिय राख्दै आएकी थिइन् ।

Published : Sunday, 2023 November 5, 11:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया