कांग्रेसभित्र धैर्यता कमजोर हुँदा पार्टीलाई क्षति भयो : सभापति बानियाँ

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले कांग्रेसभित्र धैर्यता कमजोर हुँदै गएको बताएका छन् ।

शनिबार भक्तपुरमा नेपाली कांग्रेस भक्तपुरको क्षेत्र नं. २ प्रदेश सभा १ को सम्मेलनलाई सम्बोधन गर्दै सभापति बानियाँले भने, ‘कांग्रेसभित्र धैर्यताले कमजोर हुँदै गएको छ । कमजोर धैर्यताले कतै कांग्रेस नै कमजोर हुने हो कि भन्ने आशंका छ ।’

‘यो वर्ष टिकट पाएन, सभापति हुन पाएन, फेरि पार्टी नै चेञ्ज गरेर अर्को पार्टीको सभापति बन्ने हो कि ?’, उनले भने ।

‘टिकट पाएन भने अर्को पार्टीबाट जितिहाल्ने हो कि ? भन्ने त्यो किसिमको पद्धतिप्रति, कांग्रेसको नीतिप्रति प्रतिबद्ध हुन सकेन भने त्यो व्यक्तिलाई नै घाटा हो’, सभापति बानियाँले भने ।

सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेसले चुनाव जितेको बताउँदै बानियाँले कांग्रेसले सबैलाई नेतृत्व गरेर आएको बताए । उनले भने, ‘कांग्रेसले सबैलाई ठाउँ दिएको छ । कांग्रेसले गणतन्त्रमा माओवादीलाई पनि ल्याएको छ । यो व्यवस्थामा सबैलाई कांग्रेसले ल्याएको छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायतका दलहरूले संघीयताको विरोध गरेकोमा सभापति बानियाँले असन्तुष्टि जनाएका छन् । उनले संघीयताको विरोध गर्ने रास्वपालगायतका दलहरूलाई गणतन्त्र विरोधको संज्ञा दिएका छन् ।

‘अहिले नयाँ पार्टी आएका छन् । बोल्न जानेका छन् । ट्याउँ ट्याउँ गरेर बोलेका छन्’, उनले भने, ‘हेटौँडा सिमेन्ट कहाँ गयो ? भृकुटी मण्डप कागज कहाँ गयो भन्छन् ?’

उनले भने, ‘कांग्रेसको निजीकरणले सरकारी सिमेन्टभन्दा निजी सिमेन्टले अरुले भन्दा सस्तोमा सिमेन्ट बिक्री गरिरहेका छन् । छाला जुत्ता कारखाना चलाउनेकी मुटुको अस्पताल चलाउने ?’

उनले भने, ‘स्वास्थ्य, शिक्षामा भेद गर्नु हुँदैन । त्यसतर्फ आवाज उठाउनुपर्छ । राज्यको सम्पत्ति खर्च गरेर भार बोक्नु हुँदैन । निजी क्षेत्रलाई नै ती काम गर्न दिनुपर्छ । रोजगारी सिर्जना हुन्छ । राजश्व बढ्छ ।’

उनले प्रदेश संरचाना बोझ भएको भनेर विरोध गर्नुभन्दा अगाडि केन्द्रबाट प्रदेशलाई कति अधिकार गयो भनेर विचार गर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘प्रदेश सभा बोझ भइरहेको छ कि भन्ने प्रश्न उठेको छ । यस्तो अवस्थामा कांग्रेसको सम्मेलन चलिरहेको छ ।

प्रदेशको अधिकारभित्र निजामती, शिक्षाको कानून बनेर आएको छैन । प्रहरी, भूमिसम्बन्धी अधिकार प्रदेशमा गएको छैन । संघीयतामा अधिकार नदिने हो भने समस्या रहन्छ ।’

सभापति बानियाँले रास्वपा, राजावादीहरूबाट संघीयतामाथि चुनौती रहेको बताएका छन् । उनले राजा आउ भन्नेहरू सलबलाएकोे भन्दै आफ्नै घर चलाउन नसक्नेहरूले देश चलाउछु भन्नु उचित नरहेको बताए ।

‘जसले घर चलाउन सक्दैन त्यसले देश चलाउन सक्दैन’, सभापति बानियाँले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गरेर भने, ‘छोरा कता हो ? बुहारी कता हो ? यस्तो अवस्थामा देश चलाउन सक्दैन ।’

नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ प्रदेश सभा १ सम्मेलन २०८० को उद्घाटनमा सह–महामन्त्री भीष्मराज आङ्गदेम्बे, केन्द्रीय सदस्यद्वय रमा कोइराला पौडेल र मदनकृष्ण श्रेष्ठ, नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा, बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठलगायतले आफ्नो धारणा राखेका थिए ।

Published : Saturday, 2023 November 4, 5:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया