लुम्बिनी सरकारले भूकम्प प्रभावित जिल्लालाई डेढ करोड दिने, स्वास्थ्यकर्मीको टोली गयो

मसुरिया । लुम्बिनी प्रदेश सरकारले भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिममा उद्धार तथा राहतका लागि डेढ करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ ।

शनिबार दाङमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले भूकम्पपीडितको उद्धार तथा राहतका लागि डेढ करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताए । उनले विपतका बेला भूकम्प प्रभावित जिल्लाहरूमा उद्धार र मानवीय सहयोग अतिआवश्यक रहेको बताएका छन् ।

लुम्बिनी प्रदेश सरकारले गृहमन्त्री सन्तोष पाण्डेको नेतृत्वमा एक टोली प्रभावित जिल्लामा पठाउने पनि निर्णय गरेको छ ।

जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट मृत्यु भएका परिवारप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि लुम्बिनी प्रदेश सरकारले गरेको छ ।

लुम्बिनी प्रदेश सरकारले यसअघि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री भूकम्प प्रभावित जिल्लामा पठाइसकेको छ ।

Published : Saturday, 2023 November 4, 4:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया