भुइँचालो पीडितकाे साथमा छ कांग्रेस, राहतका लागि सरकारलाई ५० लाख प्रदान

काठमाडौं । नेपाली कांग्रेसले जाजरकोट केन्द्रविन्दु भएरगएको भुइँचालोका पीडितहरूका लागि ५० लाख नगद राहत प्रदान गरेको छ ।

कांग्रेसले शनिबार विज्ञप्ति जारी गरेर उद्धार, राहत र पुनस्र्थापनाका लागि सरकारको कोषमा पचास लाख रुपियाँ जम्मा गरेको जनाएको छ ।

जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११:४७ मा गएको ६.४ म्याग्निच्युडको भुइँचालोका कारण जाजरकोट र रुकुम (पश्चिम) लगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौं घाइते भएको घटनाले समस्त नेपालीलाई मर्माहत र दुखी बनाएको कांग्रेसले जनाएको छ ।

यस्तो समयमा सरकार, राजनैतिक दलहरू, संघ–संस्था सबै एक भएर यो विपत्तिको सामना गर्न नेपाली कांग्रेस सबैमा अपील गरेको छ ।

भूइँचालो पीडितहरूको उद्धार, राहत र पुनस्र्थापनाका लागि नेपाली कांग्रेसले पचास लाख नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरिएको जनाएको छ ।

स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न नेपाली कांग्रेस अपील गरेको छ ।

Published : Saturday, 2023 November 4, 11:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया