एक हजार ६१ मेगावाटको माथिल्लो अरुण धेरै सस्तोमा बन्छ : अर्थमन्त्री डा.महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले संखुवासभामा निर्माण हुन लागेको एक हजार ६१ मेगावाटको माथिल्लो अरुण आयोजना धेरै सस्तो मूल्यमा बन्ने बताएका छन् ।

शुक्रबार संखुवासभामा माथिल्लो अरुण निर्माणस्थलको स्थलगत अनुगमनपछि उनले अरुण आयोजनाका लागि स्रोत जुटाउन समस्या नभएको बताए । उनले माथिल्लो अरुण निर्माणका लागि धेरै दाताहरूले चासो देखाइरहेको बताए ।

विश्व बैंकले अरुणका लागि विशेष सहभागिता जनाएको डा.महतले बताएका छन् । अर्थमन्त्री डा.महतले आयोजना तोकिएकै समयमा निर्माण सम्पन्न हुने बताएका छन् ।

उर्जामन्त्री शक्ति बस्नेतले माथिल्लो अरुण सबैका लागि गौरवको आयोजना भएको बताएका छन् ।

उनले १२ वर्षमा नेपालका विभिन्न स्थानबाट २५ हजार मेगावाट बिजुली निकाल्ने तयारीमा सरकार रहेको बताएका छन् ।

नेपाली कांग्रेसका सांसद दीपक खड्काले आयोजनाको शेयर हरेक घरधुरीले प्राथमिकताका साथ पाउनुपर्ने बताएका छन् । उनले आयोजनाबाट स्थानीयले पाउने सेवा सुविधाबाट वञ्चित हुनु नपर्ने बताएका छन् ।

विश्व बैंकका प्रतिनिधिले माथिल्लोअरुणको ड्यामसाईड, पावरहाउस र सुरुङमार्गको अवलोकन गरेका छन् ।

अवलोकनका लागि अर्थमन्त्री डा.महत, उर्जामन्त्री बस्नेत, कांग्रेसका सांसद खड्कासहित उर्जा सचिव, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, विश्व बैंक निर्देशक लगायतको टोली सहभागी थिए ।

आयोजना प्रभावित क्षेत्रका ७८८ कित्तामध्ये ६९९ कित्ता काट गरिसकेको छ । आयोजनाका लागि भोटखोलामा दुई हजार ५ सय रोपनी जग्गा अधिग्रहण गरिएको छ । जलविद्युत् आयोजनाको अनुमानित लागत दुई खर्ब २६ करोड रुपियाँ बढी छ ।

सन् २०२४ को मध्यदेखि जलविद्युत् आयोजनाको निर्माण सुरु हुनेछ । हाइड्रोपावर निर्माण सुरु भएको ६ वर्षभित्र सम्पन्न गर्ने योजना छ ।

आयोजनाको ३० प्रतिशत पुँजी र ७० प्रतिशत स्वदेशी तथा विदेशी बैंक तथा वित्तीय संस्थासँग कर्जा जुटाइनेछ ।

Published : Friday, 2023 November 3, 7:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया