प्रहरी निरीक्षक र सहायक निरीक्षक पदमा नयाँ भर्ना आव्हान

काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नयाँ भर्नाका लागि दरखास्त आव्हान भएको छ ।

प्रहरी निरीक्षक पदका लागि ९६ जना र प्रहरी सहायक निरीक्षक पदका लागि २ सय ६० जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको सूचनामा उल्लेख छ ।

प्रहरी निरीक्षक पदमा दरखास्त दिने उम्मेदवारहरूले नेपाल प्रहरीको अनलाइन दरखास्त दिनुपर्नेछ ।

अनलाइनबाट दरखास्त दिन नेपाल प्रहरीको वेबसाइटमा गई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा ७ वटै प्रदेश प्रहरी कार्यालयहरूमध्ये एक छनौट गरी फारम भर्न सकिनेछ ।

प्रहरी सहायक निरीक्षक पदमा दरखास्त दिन काठमाडौं उपत्यका प्रहरी शिक्षालय महाराजगंज काठमाडौं तथा ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरू विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज) र दिपायलमा उम्मेदवार स्वयम् उपस्थित भई दरखास्त फारम संकलन तथा दर्ता गर्न सकिनेछ ।

नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले कात्तिक १९ गतेदेखि मंसिर २९ गतेसम्म प्रहरी निरीक्षकको हकमा अनलाइन प्रणालीमार्फत र प्रहरी सहायक निरीक्षकको हकमा सम्बन्धित कार्यालयहरूमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन् ।

दरखास्त आव्हान सम्बन्धी विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।

Published : Friday, 2023 October 20, 5:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया