मोस्ट वान्टेड सुवास हेटौँडामा पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरले चिकित्सकमाथि कुटपिटमा संलग्न सुवास स्याङ्तानलाई पक्राउ गरेको छ ।

हेटौँडा उप–महानगरपालिका वडा नं. १२ सिक्रेनीका वर्ष ३६ स्याङतानलाई बुधबार हेटौँडा १० स्थित बसपार्कबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । स्याङ्तानलाई प्रहरीले मोस्ट वान्टेडमा राखेर खोजी गरेको थियो । फरार रहेका बाँकीलाई पनि खोजीको सूचीमा राखेर प्रहरीले पक्राउ गर्न प्रहरी परिचालन गरेको छ ।

हेटौँडा उप–महानगरपालिका वडा नम्बर १ भिन्तुनापथमा रहेको सञ्चो अस्पतालमा कार्यरत चिकित्सकमाथि दुर्व्यवहार गर्ने घटनामा संलग्न केही व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार स्याङतानलाई आवश्यक कारबाहीका लागि मकवानपुर जिल्ला अदालतमा बुझाइएको छ ।

सञ्चो अस्पतालका चिकित्सकमाथि गत भदौ २७ गते चिकित्सकद्वय विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो ।

हेटौँडा उप–महानगरपालिका– १२ स्थित पदमपोखरीका राजेश प्रधानको साउन २५ गते भएको मृत्युको विषयलाई लिएर आफन्तले चिकित्सकमाथि कुटपिट गरेका थिए ।

१३ जनाविरुद्ध कारबाहीको माग दावी गरिएको छ । सात जना पक्राउ परिसकेका छन् । ६ जना फरार रहेका छन् ।

पक्राउ परेकामध्ये पाँच जना जनही दुई–दुई लाख रुपियाँ र मृतककी श्रीमती रमा प्रधान दुई लाख ५० हजार रुपियाँ धरौटीमा छुटेका छन् ।

Published : Wednesday, 2023 October 11, 7:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया