दुर्गा प्रसाइँलाई कालोमोसो दलेको बारे महेश बस्नेतले दिए प्रतिक्रिया

काठमाडौं । एमालेका नेता महेश बस्नेतले मेडिकल व्यवसायी दुर्गा प्रसाइँलाई औकातमा बस्न चेतावनी दिएका छन् ।

सोमबार साँझ सामाजिक सञ्जालमार्फत बस्नेतले प्रसाइँलाई युवा संघ नेपालको ताकतका बारेमा जानकारी राख्न सचेत गराएका छन् । मेडिकल माफियाको आरोप खेप्दै आएका प्रसाइँलाई काठमाडौंको कान्तिपथस्थि होटेल एलोप्यागोडामा केही समूहले कालोमोसो दलेको थियो ।

कालोमोसो दलेपछि नारावाजी गर्ने युवाहरूले केपी ओली जिन्दावाद, महेश बस्नेत जिन्दावाद लगायतका नारा लगाएका थिए ।

एमालेका नेता बस्नेतले भने, ‘बैक तथा वित्तीय संस्थालाई चुनौती दिने, विभिन्न समुदायलाई देश निकाल्छु, कालोमोसो दल्छु भन्ने अपराधिक कर्म गर्ने दुर्गा प्रसाइँलाई युवाहरूले आज (सोमबार) तह लाएछन् ।’

‘अब सुध्रिउ, अरुलाई दोष नलगाउ । यस्तालाई सरकारले कारवाही गरोस्’, बस्नेतले भने, ‘जन प्रतिरोध हुनु राम्रो होइन । युवा संघको तागत ननाप प्रसाइँ ।’

प्रसाईंले होटलमा पत्रकार सम्मेलन राखेका थिए । पत्रकार सम्मेलन सकेर होटल बाहिर निस्केका प्रसाइँमाथि कालोमोसो दलिएको थियो ।

सार्वजनिक एक भिडियोमा प्रसाइँमाथि कालोमोसो दलिएको देखिएको छ । शरीरको कपडा पनि च्यातिएको देखिएको छ ।

धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको संयोजक रहेका प्रसाइँले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूलाई कालोमोसो दल्ने भनेर धम्की दिँदै आएका थिए ।

प्रसाईंले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूलाई कालोमोसो दल्ने भन्दै कालोमोसो दस्ता नै बनाएका थिए ।
फागुन १३ गते चितवनमा कालोमोसो दस्ताको केन्द्रीय संयोजकको रूपमा शम्भु थापालाई घोषणा गरेका थिए ।

Published : Monday, 2023 October 9, 9:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया