तुलसीपुरमा पति र पत्नी मृत भेटिए, उता गणेशीबारे नयाँ तथ्य फेला

घोराही । दाङ जिल्लाको तुलसीपुर उप–महानगरपालिकामा दुईजना मृत अवस्थामा फेला परेका छन् ।

तुलसीपुर उप–महानगरपालिका–९ बेलुवामा कोठा भाडामा लिएर बस्ने दुईजना मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रमुख (डीएसपी) ठाकुरप्रसाद पोख्रेलले बताएका छन् ।

उनीहरू श्रीमान–श्रीमति रहेको प्रहरीले बताएको छ । मृतक सल्यानको त्रिवेणी गाउँपालिका–४ फलावाङका २७ वर्षीय सुशील भण्डारी र शारदा नगरपालिका–१२ अम्रैकी अन्दाजी २३ वर्षीया पवित्रा डाँगी रहेको प्रमुख पोख्रेले बताएका छन् ।

मृतक भण्डारी झुन्डिएको अवस्थामा र डाँगी बेडमा पल्टिएको अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार उनीहरू कोठाभित्रबाट चुकुल लगाएको अवस्थामा मृत फेला परेका थिए ।

श्रीमानले श्रीमतीको हत्या गरेर आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

उता, सल्यानमा भकारीभित्र मृत भेटिएकी गणेशी रोकाको हत्या भएको निष्कर्ष प्रहरीले निकालेको छ ।

शिद्धकुमाख गाउँपालिका– ४ खार्बाङकी २८ वर्षीया गणेशीको शव असोज १७ गते अन्न राख्ने काठको भकारीभित्र सडेको अवस्थामा फेला परेको थियो ।

उनी असोज १५ गतेदेखि बेपत्ता रहेको परिवारको दाबी थियो । सल्यानका प्रहरी प्रमुख (डीएसपी) नवीन कार्कीले गणेशीको हत्या भएकोमा कुनै शंका नरहेको बताए ।

घरपरिवारकै सदस्यबाट हत्या भएको भन्नेमा पनि आशंका छैन । कसले किन उनको हत्या गरेको हो भन्ने पत्ता लगाउन अनुसन्धान जारी छ ।

गणेशी दुई दिनदेखि बेपत्ता रहेको भन्ने परिवारका सदस्यबाट खबर गरिएको थियो । त्यसको दुई दिनपछि स्थानीयले गणेशकी घरमा केही वस्तु कुहिएको जस्तो गन्ध आएको सूचना प्रहरीलाई दिएका थिए । प्रहरीले खोजतलास गर्ने क्रममा गणेशीको शव भकारीभित्र फेला पारेको थियो ।

प्रहरीका अनुसार परिवारका सदस्यले गणेशीले अन्नबालीमा हाल्ने कुनै बिषादी खाएर आत्महत्या गरेको हुन सक्ने बयान दिएका छन् । अनुसन्धान क्रममा त्यस्तो नदेखिएको र घटना शंकास्पद देखिएको थियो ।

मृतक गणेशीका श्रीमान् कामको सिलसिलामा भारतमा थिए । श्रीमती बेपत्ता भएको खबर पाएपछि उनी घर फर्केका छन् । गणेशीका तीन छोरा र एक छोरी छन् ।

Published : Saturday, 2023 October 7, 11:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया