बौद्ध दर्शन र शिक्षाको विकासले लुम्बिनीमा पर्यटक भित्र्याउन सकिन्छ : डा.लामा

लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्याहरक्याल लामा बौद्ध दर्शन, शिक्षा र लुम्बिनीको विकासका लागि सहकार्य गरेर अगाडि बढ्न चाहेको बताएका छन् ।

बिहीबार लुम्बिनीमा लुम्बिनी बौद्ध विश्वविद्यालयले उपाध्यक्ष डा.लामालाई स्वागतमा राखेको कार्यक्रममा लुम्बिनी विकासमा सहकार्य गरेर जानुपर्ने बताए ।

पूर्वसांसद समेत रहेका उपाध्यक्ष डा.लामाले बौद्ध दर्शन र शिक्षाको विकासले नै पर्यटक भित्र्याउन सकिने बताएका छन् । उनले विश्वविद्यालयको उन्नतिमा विकास कोषले अग्रणी भएर काम गर्ने बताए ।

डा.लामाले कोषको अग्रसरतामा विश्वविद्यालय स्थापना भएको भन्दै विश्वविद्यालयको विकास गर्ने दायित्व पनि कोषको रहेको बताएका छन् ।

लुम्बिनीमा शैक्षिक तथा धार्मिक पर्यटक भित्र्याउनका लागि दुई संस्थाले मिलेर काम गर्नुपर्ने उनले बताए । गुरुयोजना निर्माण सकिएपछि विकास कोषका आम्दानी विश्वविद्यालयमा लगानी हुने डा.लामाले बताएका छन् । अहिलेबाट नै बौद्ध शिक्षाको विकासमा कोषले काम गर्ने उनले बताएका छन् ।

विश्वविद्यालयका उप–कुलपति प्रा.डा.सुवर्णलाल बज्राचार्यले विकास कोष अभिभावक भएर विश्वविद्यालयको विकासमा काम गर्ने बताएका छन् ।

प्रा.डा.बज्राचार्यले विश्वविद्यालयको विकासका लागि बोर्ड अफ ट्रष्टी निर्माणको प्रक्रिया अघि बढाइएको बताए । उनले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय विश्वविद्यालयमा विकास गरिने बताएका छन् ।

विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले विकास कोषले विश्वविद्यालय स्थापनामा अग्रणी भूमिका निभए पनि पछिल्ला दिनहरूमा निष्कृय रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

भोट बौद्ध अध्ययन तथा आर्काेलोजी जस्ता विषयहरू सञ्चालनमा विकास कोषको सहयोग हुनुपर्ने प्रा.डा.बज्राचार्यले बताएका छन् ।

विकास कोषको आम्दानीको ५ प्रतिशत रकम विश्वविद्यालयलाई दिने गरी परिषदबाट निर्णय भएको स्मरण प्रा.डा.बज्राचार्यले गराएका छन् । सो निर्णय कार्यान्वयन गर्न कोषका उपाध्यक्ष डा.लामासँग प्रा.डा.बज्राचार्यले आग्रह गरेका छन् ।

भोट भाषा विभागका प्रमुख डा. ङिमा शेर्पाले भोट बौद्ध अध्ययन गर्ने विद्यार्थीलाई शिक्षाको मूलधारमा ल्याउनका लागि विकास कोषले लगानी गर्नुपर्ने बताएका छन् ।

Published : Thursday, 2023 October 5, 10:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया