कांग्रेस संखुवासभाका सभापति खड्काद्वारा राजीनामा, अब केन्द्रीय सदस्यमा मनोनीत हुने

काठमाडौं । नेपाली कांग्रेस संखुवासभाका सभापति दीपक खड्काले पदबाट राजीनामा दिएका छन् ।
सभापति खड्काले कांग्रेसको केन्द्रीय कार्यालयमा बुधबार राजीनामा पत्र बुझाएका छन् । उनले सभापति शेरबहादुर देउवालाई सम्बोधन गरेर राजीनामा लेखेका छन् ।
खड्का कांग्रेसको १४औँ महाधिवेशनबाट भारी मतका साथ जिल्ला सभापति पदमा निर्वाचित भएका थिए ।
खड्का प्रतिनिधि सभाका निर्वाचित सांसद पनि हुन् । पूर्वराज्यमन्त्री समेत रहेका खड्का विक्रम संवत् २०७९ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा संखुवासभाबाट निर्वाचित भएका थिए ।
खड्काले सांसद भएपछि काठमाडौंमा धेरै समय बिताउनुपर्ने र जिल्लाको पार्टी संगठनलाई पर्याप्त समय दिन नसकेको कारण राजीनामा उल्लेख गरेका छन् ।
नेता खड्काले आफू जिल्ला सभापति पदमा नरहे पनि अब बन्ने सभापति देउवालाई सहयोग गर्दै पार्टी र जनताको काममा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्रोतका अनुसार सांसद खड्कालाई सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनयन गर्ने तयारी गरेका छन् । केन्द्रीय सदस्यमा मनोनयन हुनुभन्दा अगाडि सभापति खड्काले पदबाट राजीनामा दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया