योगेन्द्रद्वारा प्रदेश सरकारमा प्रहरीको माग, कांग्रेस नेतृत्वमा ४० वटा कानून बनाउन प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले संघीयता कार्यान्वयनका लागि प्रदेश सरकारलाई पनि प्रहरीसहितका जिम्मेवारी दिन माग गरेका छन् ।

शुक्रबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता चौधरीले प्रहरी र कर्मचारीविनाको प्रदेश सरकारले कस्तो काम गर्छ भनेर प्रश्न गरेका छन् । उनले संघीयता कार्यान्वयनका लागि ४० वटा कानून बनाउनुपर्ने र त्यसको नेतृत्व कांग्रेसले लिनुपर्ने प्रस्ताव गरेका छन् ।

‘अहिले पनि प्रहरीविनाको सरकार परिकल्पना गर्न सकिन्छ ? जोसँग कर्मचारी छैन, अनि त्यो सरकारले कसरी काम गर्छन् ? यो सन्दर्भमा हामीले लिनुपर्ने एक्सन के के हुन् ? महामन्त्री, सह–महामन्त्री र पदाधिकारी संसदमा हुनुहुन्छ यो विषयलाई सदनमा गम्भीरतापूर्वक लिइयोस्’, चौधरीले भने ।

उनले भने, ‘समानुपातिक, समावेशिता, धर्मनिरपेक्षता संविधानको सुन्दर पक्ष हो भनेर हामी भन्दै आएका छौँ । यहि सुन्दर पक्षभित्रको विषयले हामीलाई यहि व्यवस्थाप्रति चुनौती बनेर आएको भनेर प्रश्न उठेका छन् ।’

‘संघीयता धेरै खर्चिलो भयो भनेर जनतामा धेरै निरासाजनक कुराहरू संघीयतामा उठेको देखेको छु’, उनले भने, ‘संघीयताप्रतिको हाम्रो धारणा के हो ? हामीले तीन तहको सरकारको परिकल्पना गर्‍यौँ ।’

नेता चौधरीले भने, ‘संविधानमा संवैधानिक व्यवस्था तीन वर्षभित्र फुलफेजमा प्रदेशलाई कार्यान्वयन गर्ने, संघीयतालाई कार्यान्वयन गर्ने भन्ने कानून बनाएर पनि हामीले व्यवस्थापन गर्‍यौँ ।’

‘आज आठ वर्ष भयो । प्रदेशको निम्ति कानून बनेको छैन । प्रदेशले आफूले जे सेवाहरू प्रवाह गर्न सकेको छैन’, उनले भने, ‘प्रश्न उठेको छ, संघीयता औचित्य विहीन भयो । यो बोझियो भयो ।’

उनले भने, ‘साँच्चिकै हामी इमान्दार छौँ भने अहिले ४० वटा कानून नबनेर प्रदेश सभाको प्रश्न उठेको छ । हाम्रो नेतृत्वमा बनेको यो संविधानको नैतिक जिम्मेवारी, यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी नेपाली कांग्रेसको हो कि होइन ?’

उनले भने, ‘बन्न बाँकी कानूनहरू कुन कानून कसको कारणले रोकियो ? यसको बारेमा गम्भीरतापूर्वक अगाडि बढौं ।’

उनले भने, ‘समावेशिता यो संविधानको सुन्दर पक्ष हो । हामी समावेशी चरित्रलाई यो संविधानबाट निकालियो भने कस्तो देखिन्छ ? मिश्रित निर्वाचन प्रणालीको सन्दर्भमा बिकल्प खोजी रहेका छौँ । मिश्रित निर्वाचन प्रणालीले हाम्रो समस्या जन्माएको हो ? यो संविधान कार्यान्वयनमा समस्या गरेको हो ?’

‘निर्वाचन प्रणालीभित्रको समानुपातिक निर्वाचन प्रणालीलाई हामी ठीक ढंगले प्रयोग गर्‍यौँ कि गरेनौँ ? यसको गलत प्रयोग त गरेनौँ ? भन्ने समीक्षा गर्ने विषय हो कि होइन ? हामीले यो विषयलाई विषयान्तर गर्दैछौँ यो समानुपातिक निर्वाचन प्रणालीको बिकल्प के हो ?’, उनले भने, ‘यसले स्थायी सरकार दिन सक्दैन । यसले अस्थिरता ल्यायो भन्ने बहस बनाएको छ ।’

उनले भने, ‘समानुपातिक समावेशी प्रणालीमा समावेशी समानुपातिकको रुलिङ गरिरहेको छ ।’

Published : Friday, 2023 September 22, 8:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया