तीनकुनेको सामूहिक हत्यामा हतियारसहित युवक पक्राउ

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित दीव्य स:मिलमा शुक्रबार राति भएको सामूहिक हत्यामा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।

प्रहरीले आइतबार घटनामा संलग्न भएको आशंकामा एक युवकलाई पक्राउ गरेपछि घटनाको तथ्यहरू फेला पारेको छ ।

पक्राउ परेका ती युवकले चार जनाको हत्या आफूले नै गरेको प्रहरी समक्ष बयान दिएका छन् । प्रहरीले ती युवकसँग बारदातका बेला प्रयोग भएको हतियार पनि बरामद गरेको स्रोतले जनाएको छ ।

प्रहरीले हत्या प्रकरणमा एक जना व्यक्तिको मात्रै संलग्नता भएको प्रारम्भीक अनुसन्धानले देखाएको जनाएको छ ।

ती युवक मोरङ घर भएका १९ वर्षीय नवीन राईको हत्या गर्न स:मिलमा पुगेका थिए । घटनाबारे अन्य व्यक्तिले पनि थाहा पाउने भएपछि अन्धाधुन्ध आक्रमण गरेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

ती युवकको आक्रमणमा परी ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्रा र आमा ७० वर्षकी सुमित्रा भुजेलको मृत्यु भएको थियो ।

घटनाबारे खबर गर्न २८ वर्षका दीपेन्द्र राई तीनकुनेस्थित प्रहरी वृत्त नयाँ बानेश्वर पुगेका थिए । कपडा र जुत्तामा रगत लागेको अवस्थामा पुगेका दीपेन्द्रलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो ।

सीसीटीभी फुटेजमा दीपेन्द्र ११ बजेर १३ मिनेटमा स:मिलमा प्रवेश गरेर ११:३३ मा निस्किएको पाइएको छ । दीपेन्द्र प्रहरी वृत्तमा पुग्दा ११:५५ बजेको थियो । घटनास्थलमा दीपेन्द्र पुग्नुभन्दा पहिला नै हत्या भएको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।

Published : Sunday, 2023 September 17, 5:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया