काभ्रेलीको मलद्वाराभित्र एककिलो सुन, काठमाडौंबाट ३ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंमा अबैध सुनसहित ३ जना मानिसलाई नियन्त्रणमा लिएको जनाएको छ ।

मंगलबार बिहान ९ बजेर २५ मिनेटको समयमा दुबईबाट हिमालयन एयरलाईन्सद्वारा नेपाल आएका बाबुलाल दोङ भन्ने व्यक्तिले भन्सार छली अबैध सुन लुकाई छिपाई ल्याएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी प्रमुख (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले बताएका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको बिशेष प्रहरी टोलीले खोज तलास गर्ने क्रममा सोमबार बिहान ११ बजेको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थाल बाहिर सार्वजनिक सडकखण्ड पेटी किनारमा हिँड्दै गरेको अबस्थामा फेला पारी तत्काल पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

उनलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा सुन मलद्वारमा लुकाई छिपाई ल्याएको भनी खुलाएको थियो । ती व्यक्तिलाई प्रहरी वृत्त गौशालामा लगेर चेकजाँच गर्ने क्रममा कालो टेपले बेरिएको २ वटा लाम्चो र डल्लो सुन जस्तो पहेलो धातु मलद्वारमा फेला परेको थियो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका वडा नं. ३ घर भई हाल पनौती नगरपालिका वडा नं. ५ बस्ने वर्ष २८ को बाबुलाल दोङ, रोशी गाउँपालिकाको वडा नं.३ घट्टेखोला घर भई बस्ने वर्ष ३३ को जगत लामा र महाभारत गाउँपालिका वडा नं.३ सानो पोखरा घर भई हाल बनेपा बस्ने वर्ष ३६ को मिङमा दोर्जे स्यान्तान रहेका छन् ।

अनुसन्धानका क्रममा प्रहरीले ढल्कुस्थित बिगमार्टको पार्किङबाट नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौचर पठाइएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रहरीले सुन जस्तो पहेलो धातु डल्लाको ९६० ग्राम, हिमालयन एयरलाईन्सको टिकट थान १, राहदानी थान १, मोवाईल थान १, बागमती प्रदेश ०१ २७ प. च ९९६० नम्बरको क्रेटा गाडी थान १, बागमती प्रदेश ०२ ०३० प.८५१७ नम्बरको कालो रंगको बुलेट मोटरसाईकल थान १ लाई नियन्त्रणमा लिएको छ ।

Published : Tuesday, 2023 September 12, 8:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया