एमालेलाई खण्डित गर्न ४ वर्ष सत्ता बाहिर राख्नुपर्छ, आफै समाप्त हुन्छ : अभिषेकप्रताप शाह

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद अभिषेकप्रताप शाहले एमालेलाई चार वर्ष सत्ताभन्दा बाहिर राखेर खण्डित बनाउनुपर्ने बताएका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत कांग्रेसका पूर्व केन्द्रीय सदस्य समेत रहेका शाहले अहिलेको सत्ता गठबन्धनलाई चार वर्षसम्म बचाइराख्नुपर्ने बताए । उनले एमालेको अहँकार र घमण्डलाई सत्ताभन्दा बाहिर राखेर चार वर्षमा चकनाचुर बनाउनुपर्ने बताए ।

उनले भने, ‘नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनको सरकार केही सानातिना विषयलाई सच्चाएर अगाडि बढ्दै जानु पर्दछ ।’

‘एमालेलाई ४ वर्ष सरकारबाट बहिर राख्न सफल भइयो भने एमाले खण्डखण्ड हुँदै जानेछ’, कांग्रेस नेता शाहले भने ।

एमालेप्रति निकै अनुदार मानिने नेता शाहले कांग्रेसलाई बलियो बनाउने हो भने एमालेलाई सत्तामा जानै दिन नहुने बताएका हुन् । उनले एमालेले सत्ता गठबन्धन भत्काउन गरिरहेका प्रयासप्रति कांग्रेस नेतृत्वले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

कांग्रेसको प्रमुख प्रतिस्पर्धी भनेको एमाले रहेको भन्दै नेता शाहले गठबन्धनका बीच देखिने मतभेदलाई विशेष ध्यान दिनुपर्ने बताए ।

Published : Wednesday, 2023 August 30, 12:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया