इंग्ल्याड फाइनलमा प्रवेश, स्पेनसँग हुनेछ प्रतिस्पर्धा

लण्डन । महिला विश्वकप फुटबलको फाइनलमा इंग्ल्याड प्रवेश गरेको छ ।

अस्ट्रेलियालाई ३–१ ले पराजित गर्दै इंग्ल्याड फाइनलमा प्रवेश गरेको छ । अस्ट्रेलिया महिला विश्वकप फुटबलको आयोजक राष्ट्र हो ।

इंग्ल्याड पहिलो पटक महिला विश्वकपको फाइनमा पुगेको छ । यस अगाडि इंग्ल्याड ३ पटकसम्म सेमिफाइनलमा पुगेर पराजित भएको थियो ।

फाइनल पुग्न खेलको पहिलो हाफको ३६औँ मिनेटमा इंग्ल्याडले गोल गरेर १–० को अग्रता लिएको थियो । खेलको ६३औँ मिनेटमा पेनाल्टी बक्स बाहिरबाट इंग्ल्याडका २ वटा डिफेन्डरलाई बिट गर्दै स्याम किरले अस्ट्रेलियाको लागि गोल फर्काएर बराबरी गरेकी थिइन् ।

अस्ट्रेलियाले गोल फर्काएर बराबरी गरेको ७ मिनेटमा इंग्ल्याडकी लरेन हेम्पले पेनाल्टी बक्स भित्र डिफेन्डरको ट्याकललाई विफल पार्दै गोल गरेर अग्रता लिइन् ।

इंग्ल्याडकै एलेसिया रुसोले खेलको ८६औँ मिनेटमा अर्को गोल थपिन् र ३–१ को नतिजासहित फाइनलमा प्रवेश गर्ने बाटो क्लियर गरिन् । अब इंग्ल्याड र स्पेनबीच भदौ ३ गते फाइनल हुनेछ ।

Published : Wednesday, 2023 August 16, 8:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया