चीनको तिब्बत सैन्य कमाण्ड मेजर जनरल काठमाडौंमा, सेनापतिसँग भेटवार्ता

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा र चिनियाँ जनमुक्ति सेनाको तिब्बत सैन्य कमाण्डका मेजर जनरल यू एन्डेबीच भेटवार्ता भएको छ ।

बुधबार नेपाली सेनाको जङ्गी अड्डामा शर्मा र एन्डेबीच शिष्टाचार भेटघाट भएको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा आपसी चासोका विषयहरूमा छलफल भएको विज्ञप्तिमा उल्लेख छ ।

मेजर जनरल यू एन्डेको नेतृत्वमा ८ सदस्यीय सीमा सुरक्षा प्रतिनिधि बुधबार नेपाल भ्रमणको लागि काठमाडौं आएको हो ।
टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपरथी सागरबहादुर थापाले स्वागत गरेका छन् ।

पाँच दिवसीय भ्रमणको दौरान चिनियाँ टोलीले सैनिक कमाण्ड तथा स्टाफ कलेज, सैनिक संग्रहालय लगायतका सैनिक ईकाईहरूका साथै काठमाडौं र पोखरास्थित ऐतिहासिक एवं पर्यटकीय स्थलहरूको भ्रमण गर्नेछ ।

यस किसिमको भ्रमणले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाएको छ ।

Published : Wednesday, 2023 August 16, 7:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया