चन्द्रागिरीमा भारतले बनाइदियो विद्यालयको सुविधा सम्पन्न भवन

काठमाडौं । शैक्षिक क्षेत्र पुनर्निर्माणमा भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिएको काठमाडौंको चन्द्रागिरीस्थित श्री विष्णुदेवी माध्यमिक विद्यालयको विद्यालय भवनको उद्घाटन गरिएको छ ।

भारतको ७७औं स्वतन्त्रता दिवसको अवसरमा विद्यालयको नवनिर्मित विद्यालय भवनको मंगलबार भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले उद्घाटन गरेका हुन् । चन्द्रागिरी नगरपालिकाका वडाध्यक्ष घनश्याम लुईटेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर सुवेदी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक डिल्लीराम लुईटेल उद्घाटन कार्यक्रममा सहभागी थिए ।

नेपाल सरकारको भूकम्प उत्थानशील पुनर्निर्माण मापदण्ड अनुरुप करिब नेरु ६.९ करोड लागतमा विद्यालय भवनको निर्माण गरिएको छ ।

नवनिर्मित संरचनामा दुई वटा ब्लक रहेका छन् । भवनमा १३ वटा कक्षा कोठा, प्रशासनिक कक्ष, पुस्तकालय, बहुउद्देश्यीय हल, प्रयोगशाला आदि रहेका छन् ।

बालमैत्री, लैङ्गिकमैत्री र अपाङ्गमैत्री भूकम्पप्रतिरोधी संरचनाले ५०० जनाभन्दा बढी विद्यार्थीलाई लाभान्वित तुल्याउनुका साथै प्रभावकारी सिकाइ वातावरण प्रदान गर्नेछ ।

विद्यालय भूकम्पपछिको पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको अनुदान रकम ५० मिलियन अमेरिकी डलर अन्तर्गत नेपालका आठ जिल्लामा निर्माण भइरहेका ७१ शैक्षिक संस्थामध्ये कै एक हो ।

यी ७१ शैक्षिक संस्थामध्ये ६५ वटा विद्यालयको निर्माण सम्पन्न भइसकेको छभने बाँकी ६ वटा पनि छिट्टै सम्पन्न हुने भएको छ ।

परियोजनाले भारतको नेपालसँगको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै शिक्षाको क्षेत्रमा पूर्वाधार सुदृढ गर्ने नेपाल सरकारको प्रयासमा थप बल पुर्‍याएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Tuesday, 2023 August 15, 9:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया