कांग्रेस फुटाउन गृहमन्त्रीले के-के गरे ? महरा बचाउने अरुलाई फसाउने, सीआईबी र अपराधलाई दुरुपयोग

काठमाडौं । उप–प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलेले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो(सीआईबी)लाई विपक्षी पार्टीका नेता फसाउने र आफ्नो पार्टीका नेता जोगाउने कार्यमा दुरुपयोग गरेका छन् ।

चीनबाट विद्युतीय चुरोट(भेप) भित्र ९ किलो सुन लुकाएर तस्करी गरी ल्याउने गिरोहसँग माओवादी नेता कृष्णबहादुर महरा र राहुल महराको पटक पटक सम्पर्क भएको देखिए पनि राजस्व अनुसन्धान विभाग र सीआईबीले उनीहरूलाई बयानमा बोलाउन सकेको छैन ।

भेपमा लुकाएर ल्याइएको नौ किलो सुन तस्करीमा कृष्णबहादुर महरा र छोरा राहुल संलग्न रहेको सीआईबी र जिल्ला सरकारी वकिल कार्यालयले किटानी गरे पनि सत्ताको आडमा अभियुक्त नबनाई जोगाएको पाइएको छ ।गृहमन्त्री श्रेष्ठल नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध कार्यालय नयाँ बानेश्वरलाई पनि निकै दुरुप्रयोग गरेको आरोप छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा गृहमन्त्री श्रेष्ठले एसएसपी केसीलाई निकै दुरुपयोग गरेको आरोप कांग्रेसकै नेताहरूले लगाएका छन् । एसएसपी केसी कांग्रेसका महामन्त्री गगनकुमार थापा निकटका मानिन्छन् ।

सीआईबीको दुरुपयोग गरी आफ्नो पार्टीका उपाध्यक्ष महरालाई उन्मुक्ति दिएको विषयमा चौतर्फी बिरोध भइरहेको छ ।

सुन विमानस्थलमा रोकिएको अवधिमा गिरोहसँग महराले छोरा निर्मलका नाममा रहेको मोबाइलबाट २२ पटक र अर्का छोरा राहुलले २ सय ३४ पटक टेलिफोन संवाद गरेको अनुसन्धानबाट खुलिसकेको छ । सीआईबीले प्रमाण भए पनि महरा बाबुछोरालाई पक्राउ नगरी उन्मुक्ति दिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिसकेपछि सिनामंगलबाट १ क्वीन्टल सुन बरामद भएपछि तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ पक्राउ परे । उनीसँग माओवादी नेता बर्षमान पुन, पूर्व उप–राष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसमेत जोडिए । उनीहरूसँगका तस्वीर समेत सार्वजनिक भए । दावालाई नागरिकता समेत दिइएको कुरा आयो । बर्षमान पुन र दीपेश पुनलाई सीआईबीले छानबिनको दायरामा ल्याउन सकेको छैन ।

सीआईबीले नेपाली कांग्रेसका सांसद सुनिलकुमार शर्माले १२ कक्षाको शैक्षिक प्रमाणपत्र नक्कली बनाएको भन्दै पक्राउ गरे पनि अदालतले भोलिपल्टै छाडेको छ । नक्कली प्रमाणपत्र नै रहेछ भने पनि उनले त्यसका आधारमा बिरामी परीक्षण नगरेको र प्रेस्क्रिप्सन पनि नदिएकाले कसैलाई हानीनोक्सानी पुगेको छैन । नक्कली चिकित्सक प्रकरणमा समेत सीआईबीले सक्कली चिकित्सकलाई पक्राउ गरेपछि के के भएको रहेछ स्पष्ट भएको छ ।

निर्वाचित सांसदलाई जघन्य अपराधीलाई झैं पक्राउ गर्ने कार्य प्रधानमन्त्री दाहालकै आदेशमा भएकोमा कांग्रेसले बिरोध गरेको छ । शर्मा नेपाली कांग्रेसका नेता शेखर कोइरालानिकट हुन् । शर्माले पछिल्लो पटक कांग्रेस सभापति शेरबहादुर देउवा र कोइरालाबीच निकट सम्बन्ध बनाएका थिए ।

देउवा र कोइरालाबीचको सम्बन्धमा दरार ल्याउन पनि गृहमन्त्री श्रेष्ठले अमरेशकुमार सिंहको सल्लाहमा सुनिल शर्मालाई पक्राउ गरेको चर्चा कांग्रेस बृत्तमा छ । सांसद शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतलाई सुन तस्करीमा संलग्न भएको आरोप संसदमै लगाउँदै उनीहरूले राजीनामा नदिएसम्म अनसन बस्ने घोषणा गरेका थिए । गृहमन्त्री श्रेष्ठले गठबन्धन भत्काएर दाहाललाई प्रधानमन्त्री पदबाट हटाउन शर्मालाई डा.महत र देउवाको सहमतिमा पक्राउ गरेको सन्देश दिन खोजेका छन् ।

देउवा र शेखर कोइरालाबीचको सम्बन्धमा दरार ल्याउने खेलअन्तर्गत शर्मालाई पक्राउ गरिए पनि त्यो अस्त्र गृहमन्त्री श्रेष्ठका लागि प्रत्युत्पादक भएको छ । सुनिल शर्मालाई पक्राउ नगरी छानबिन गर्ने अवस्था विद्यमान हुँदाहुँदै पक्राउ गर्ने कार्य गरेर गृहमन्त्री श्रेष्ठले कांग्रेसलाई भड्काउन खोजेका छन् ।

ललिता निवास प्रकरणमा २५ वटा डिपार्टमेन्टल स्टोर खोलेर हजारौंलाई रोजगारी दिएका मीनबहादुर गुरुङलाई पक्राउ गरी करिब २ महिनादेखि थुनामा राखिएको छ । उनले ललिता निवासको जग्गा खरिद गरेका हुन् । सीआईबीले हदम्याद गुज्रिएपछि कीर्तेमा मुद्दा बुझाउनका लागि गुरुङलाई थुनामा राखेको छ । गुरुङ देशलाई कर तिरेका प्रतिष्ठित व्यापारी हुन् । उनीमाथि सीआईबीले पक्राउ नगरी मुद्दा दायर गर्नसक्ने अवस्था छ ।

दसौं अरब लगानी गरेका उनी भागेर कहीँ जादैनथे । तर उनलाई पनि जघन्य अपराधीलाई झैं २ महिनादेखि थुनामा राखी नेपालका राष्ट्रिय उद्योगपतिलाई हतोत्साही पार्ने काम सीआईबीले गरेको छ । मीनबहादुरले जस्तै ललिता निवासको करिब २५ रोपनी जग्गा लिएका मारवाडी सेवा समितिका अध्यक्ष कैलाशचन्द्र गोयल, उनका भाइ श्रवण गोयल, सन्दीप शारडा, मनोजकुमार केडिया, गोविन्दलाल संघाईहरूलाई पक्राउ नगरी सूचना दिएरै दुबईमा भाग्ने अवसर दिइएको आरोप सीआईबीका अधिकारीमाथि छ ।

सीआईबीका एआईजी किरण बज्राचार्य र गृहमन्त्री नारायणकाजी श्रेष्ठका सहयोगी सुशन कर्माचार्य, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख (एसएसपी) मनोज केसीको चलखेलमा गोयल, शारदा, संघाई, केडियाहरूलाई दुबईमा भगाइएको आशंका ब्यापक छ । ललिता निवासमा सासु ईन्दु शर्माको नाममा १५ रोपनी जग्गा खरिद गरेका सुहृद घिमिरेलाई पनि अहिलेसम्म पक्राउ गरिएको छैन ।

ललिता निवासमै १ रोपनी जग्गा किनेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका विश्वासपात्र राजेन्द्र अर्याललाई पनि एआईजी बज्राचार्यले पक्राउ नगरी उन्मुक्ति दिएकी छिन् ।

लामिछानेको रास्वपामा लागेकै कारण अर्याललाई उन्मुक्ति दिइएको छ । सयौं पीडितहरुले ठगिएको भन्दै महिनौंअघि सीआईबीमा उजुरी गर्दा समेत देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष एवं सञ्चालक रविन्द्र चौलागाईं अझै पक्राउ परेका छैनन् । देउराली सहकारीका पीडितहरूमध्ये १ सय ९६ जना बचतकर्ताले उजुरी दिएपछि सहकारी विभागले २०८० असार १२ गते नै चौलागाईंलगायतलाई पक्राउ गरी अनुसन्धान गर्न सीआईबीलाई पत्र पठाएको थियो । सीआईबीका एआईजी बज्राचार्यकै कारण चौलागाईं पक्राउ पर्नबाट जोगिएका छन् । एआईजी बज्राचार्य ललितपुर प्रहरी परिसरको प्रमुख(एसएसपी) हुँदा चौलागाईंमार्फत् लगानी गरेकाले पीडितहरूले उजुरी दिंदा पनि सीआईबीले देउराली सहकारीको ठगीमा चासो नदिएको आरोप छ ।

देउराली सहकारीको कारोबार बन्द गरिएको छ । पीडितको अरबौं निक्षेप डुबाएर सहकारीका संचालक चौलागाई निर्धक्कसँग सुनैसुनले पहेँलै भएर घुम्न छुट पाएका छन् । सीआईबीका एआइजीकै रकम चलाएकाले चौलागाईंले यसरी निर्धक्क घुम्ने छुट पाएका छन् भने पीडितहरूको रुवाबासी छ ।

Published : Tuesday, 2023 August 15, 12:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया