स्रोत नखुलेको नेपाली र भारतीय लाखौं रुपियाँसहित मानिसहरू पक्राउ

काठमाडौं । प्रहरीले मोरङबाट लाखौँ रुपियाँसहित एक जनालाई पक्राउ गरेको छ ।
बिराटनगर महानगरपालिका–११ पाञ्चाली मोडबाट स्रोत नखुलेको ४ लाख ६२ हजार ५ सय नेपाली रूपियाँसहित सोही महानगरपालिका–१५ बस्ने ४३ वर्षीय अनिल यादवलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले बिआर ३३ जेड ९७९६ नम्बरको मोटरसाइकलमा सवार रहेका यादवलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।
उता, धनगढीमा स्रोत नखुलेको ९ लाख भारतीय रुपियाँसहित दुई जना पक्राउ परेका छन् ।
अस्थायी प्रहरी पोष्ट बसपार्कका प्रहरी सहायक निरीक्षक निरीक्षक (असई) गजेन्द्रबहादुर चन्द नेतृत्वको टोलीले धनगढी उपमहानगरपालिका– ४ शहीदगेटबाट दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका–१० जुगेडाका २८ वर्षीय विजय राना र २९ वर्षीय अक्षय राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले जानकारी दिए ।
उनीहरूको साथबाट ९ लाख भारतीय रुपियाँ (पाँच सय दलका १८ सय नोट) र ४१ हजार (पाँच सय दलका ८२ नोट) नेपाली रुपियाँ बरामद गरिएको छ ।
दुवै जनाको साथबाट प्रहरीले कुल नेपाली १४ लाख ८१ हजार रुपियाँ बरामद गरिएको जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। उनीहरूलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग नेपालगञ्जमा बुझाइने प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया