पोखरामा करण र सावित्रालाई सातौं अवार्ड

काठमाडौं । सातौं पोखरा स्पोर्ट्स अवार्ड करण केसी र सावित्रा भण्डारीले जितेका छन् ।

शनिबार पोखरामा आयोजित कार्यक्रममा नेपाली क्रिकेट टोलीका केसी र फुटबल टोलीकी भण्डारीले वर्ष उत्कृष्ट खेलाडी पुरुष, महिला जितेका हुन् ।

कार्यक्रममा केसी र भण्डारीले एक/एक थान टेल्जि इलेक्ट्रिक स्कुटर प्राप्त गरेका छन् ।

वर्ष उत्कृष्ट पुरुष विधामा केसीसँगै आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदीप खड्का मनोनयनमा परेका थिए ।

महिलातर्फ भण्डारी, आर्चरीकी रोजिना थापामगर र तेक्वान्दोकी सुस्मिता थापा मनोनयनमा थिए ।

वर्ष उत्कृष्ट उदीयमान खेलाडीको पुरस्कार क्रिकेटका सुवास भण्डारीले पाएका छन् । यु–१९ विश्वकप क्रिकेट छनोटमा नेपालका लागि उत्कृष्ट प्रदर्शन गरेका भण्डारी उदीयमान खेलाडी बनेका हुन् ।

उदीयमान खेलाडी विधामा भण्डारीसँगै भलिबलका रवि केसी र फुटबलका सुमीत श्रेष्ठ थिए । वर्ष उत्कृष्ट प्रशिक्षक आर्चरीका किशोरकुमार गुरुङ बने ।

लाइफ टाइम अचिभमेन्ट अवार्ड बक्सिङका विष्णुप्रसाद मर्सानीले पाए ।

३५ वर्ष बक्सिङको प्रशिक्षक बनेका उनलाई शनिबार ताम्रपत्र, करुवाले सम्मान गरिएको छ ।

उत्कृष्ट खेल संस्थाको पुरस्कार कास्की जिल्ला हृयान्डबल संघले पायो । वर्ष उत्कृष्ट खेल पत्रकार पुरस्कार एपीवान टेलिभिजनमा कार्यरत सागरराज तिमिल्सिनाले प्राप्त गरे । सबै विधाका विजेताले नगद ३५ हजार रुपियाँ पुरस्कार पाएका छन् । कार्यक्रमलाई बतास समूहले सहयोग गरेको थियो ।

Published : Saturday, 2023 May 6, 11:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया