यूनाईटेड सिमरा गोल्ड कपको क्वाटर फाइनल प्रवेश

सिमरा । बाग्मती युवा क्लबविरुद्ध ३–० को सहज जित निकाल्दै बीरगञ्ज यूनाईटेड क्लब सिमरामा जारी जगदम्बा १३औं जीतपुर सिमरा गोल्ड कपको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

वीरगञ्जको जीतमा विवेक चौधरीले दुई तथा कृपा चौधरीले एक गोल गरे । पहिलो हाफ बराबरी खेलेको बाग्मतीविरुद्ध दोश्रो हाफमा वीरगञ्ज हावी भयो । बाग्मतीविरुद्ध खेलको ५४औं मिनटमा विवेक चौधरीले अग्रता लिए । बाग्मतीका गोल रक्षक रविन बस्नेतको गल्तीको फाइदा उठाउँदै वीरगञ्जका विवेक चौधरीले खाता खोले । डी एरिया छाडेर अघि बढेका गोल रक्षकलाई विट गर्दै विवेकले बललाई डी एरिया बाहिरैबाट गोल पोष्टको दिशा दिएका थिए ।

१–० ले पछि परेको बाग्मती सम्हालिन नपाउँदै वीरगञ्जका कृपा चौधरीले अग्रता दोब्बर पारे । खेलको ५६ औं मिनटमा विवेक चौधरीको क्रस बललाई कृपाले गोलमा परिणत गरे । खेल अवधिभर विवेक र कृपाको तालमेल उत्कृष्ट देखिन्थ्यो ।

खेलको ८४औं मिनटमा विवेकले व्यक्तिगत दोश्रो गोल गर्दै वीरगञ्जलाई ३–० को फराकिलो अग्रता दिलाए । कृपा चौधरीले पेनाल्टी एरियाबाट दिएको व्याक पासलाई विवेकले डी एरिया बाहिरैबाट गोलमा परिणत गरेका थिए ।

बी डिभिजन क्लब बीरगञ्जसामु निरिह देखिएको बाग्मतीले खेलमा सम्झन लायक अवसर बनाउन सकेन । यद्यपि बाग्मतीका गोल रक्षक प्रम्जय गच्छदारले भने वीरगञ्जका उत्कृष्ट प्रहार बचाउ गरेका थिए ।

खेलको आठौं मिनटमा कृपा चौधरीको उत्कृष्ट प्रहार बाग्मतीका गोल रक्षकले विफल पारेका थिए । २६औं मिनटमा विवेक चौधरीले वन भर्सेस वनको अवसर गुमाए । कृपाको क्रसमा विवेक सम्हालिन नसक्दा बाग्मतीका गोल रक्षक गच्छदारले उत्कृष्ट बचाउ गरे ।

खेलको ३४औं मिनटमा कृपा चौधरीको प्रहार बाग्मतीका आफ्रिकी डिफेण्डर मौसाले गोल लाइनबाट क्लिएर गरेका थिए । किपर समेत विट भइसकेको अवस्थामा बीरगञ्जका कृपाको प्रहार विफल भयो । त्यस लगतै खेलको ३८औं मिनटमा सागर चौधरीको क्रसमा विवेक चौधरी डी बक्सभित्रबाट गरेको सशक्त प्रहार बाग्मतीका गोल रक्षकले विफल पारेका थिए ।

बीरगञ्जको जितमा दुई गोल गरेका विवेक चौधरी खेलको म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार नगद र ट्रफि हातपारे । प्रतियोगिताअन्तर्गत पहिलो क्वाटर फाइनल खेलमा शनिबार केविए ग्लोबाल भरतपुर फुटबल क्लब र मकवानपुर ११ बीच प्रतिष्पर्धा हुनेछ ।

Published : Saturday, 2023 March 25, 12:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया