कांग्रेसले १०० सय सिट छोड्दैन, प्रतिस्पर्धा गर्न महिला कमजोर छैनौं : सरिता प्रसाइँ

सरिता प्रसाइँ, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

कांग्रेस नेतृत्वको गठबन्धनमा कसरी टिकट बाँडफाँट गर्नुपर्छ ?

गठबन्धनमा टिकट बाँड्दै गर्दा चुनावको भोटको आधारमा बाँड्नुपर्छ । जस्तै, मेरो झापामा एउटा क्षेत्रमा माओवादीको करीव ६ हजार भोट छभने कुनै अर्को क्षेत्रमा २५ सय पनि छ । कुनै क्षेत्रमा अलिक कम पनि छ । त्यो भोटको फरक हेरेर जानुपर्छ । कांग्रेसको २० हजार, माओवादीको ५ हजार छभने २० हजारबाट कांग्रेसले २० हजार नै माओवादीलाई खन्याउन सकिने परिस्थिति हुँदैन । त्यो जनताले हाल्ने भोट हो । भोट धेरै जुन पार्टीको छ, त्यो क्षेत्रमा त्यो पार्टीलाई नै टिकट दिँदा राम्रो हुन्छ ।
हामीले जनतालाई दवाव दिएर भोट दिनैपर्छ भनेर भन्नुभन्दा मतदाताको अधिकारलाई पनि ध्यान दिनुपर्छ । मंसिर ४ गतेको निर्वाचन पार्टीभित्रको आन्तरिक चुनाव होइन । जनतालाई फलानो चुनाव चिन्हमा भोट हाल्नुपर्छ भनेर दवाव दिन सकिँदैन । १२ हजार माओवादीको छभने, कांग्रेसको १५ हजार छभने हामीले माओवादीलाई त्यो ठाउँमा सहयोग गर्न सकिन्छ । यो सिद्धान्तलाई ध्यान दिएर गठबन्धनमा सिट बाँड्यौं भने उचित हुन्छ । भोट थोरै हुने, सबै भोट हालिदेउ भनेर टिकट बाँड्ने होभने त्यो उचित हुँदैन ।

गठबन्धनमा सिट बाँड्दा कांग्रेसले आफूलाई कति सिट राख्नुपर्छ ?

कम्युनिस्टहरू तत्कालीन समयमा मिलेका बेला पनि कांग्रेस दोस्रो ठूलो पार्टी हो । कांग्रेसले १६५ सिटमा कम्तिमा पनि १०० सिटमा चुनावमा प्रतिस्पर्धा गरेनौं भने हाम्रो पार्टीभित्रका साथीहरूमा पनि विद्रोह हुन सक्छ । कांग्रेसले १०० सिट लिनैपर्छ । १०० सिटभन्दा तल गयौं भने पार्टीभित्र व्यवस्थापन गर्न समस्या हुन्छ । गठबन्धन गरेको फाइदा नहुन सक्छ । गठबन्धन गर्ने, गठबन्धन गरेकै नेताहरू चुनाव हार्ने परिस्थिति आयो भने त्यसले के फाइदा गर्छ ? गर्दैन । यस्तो अवस्थामा न अर्को पार्टीलाई फाइदा हुन्छ, न हामीलाई फाइदा हुन्छ ।

गठबन्धनभित्र पनि माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले उप–गठबन्धन बनाउन खोजेका छन् । त्यसले कांग्रेसलाई फाइदा हुन्छ कि बेफाइदा ?

गठबन्धनभित्र उप–गठबन्धन, उप–गठबन्धनभित्र पनि अर्को गठबन्धन गर्दै गयौं भने यसले नकारात्मक प्रभाव पार्नसक्छ । उहाँहरूको पार्टीभित्र समस्या भएर गठबन्धनभित्र अर्को गठबन्धन गर्न लागेको हुन सक्छ ।

गठबन्धनका उम्मेदवारहरूले चुनाव चिन्ह एउटै लिने वा मत पत्रमा उम्मेदवार नभएको चुनाव चिन्ह नराख्ने या नराख्ने के गर्दा राम्रो होला ?

कांग्रेसले एउटै चुनाव चिन्हमा लड्दैन । चुनाव चिन्ह ‘रुख’भन्दा अर्को चिन्ह लिएर कांग्रेसले उम्मेदवारी दिँदैन । कांग्रेस त्यसमा जानु पनि हुँदैन । उहाँहरूको पार्टी एउटै चुनाव चिन्हमा जानुहुन्छ भने हामीलाई केही भन्नु छैन । कांग्रेस चुनाव चिन्ह ‘रुख’ लिएर जान्छ । यसमा कुनै तर्क वा वितर्क छैन । कांग्रेस जस्तो पार्टीले अर्काको चुनाव चिन्ह बोकेर जाँदैन । उम्मेदवार नरहेको निर्वाचन क्षेत्रमा मत पत्रमा चुनाव चिन्ह राख्ने वा नराख्ने त्यो निर्वाचन आयोगको कुरा हो ।

गठबन्धनले एउटै घोषणा पत्र बनाउने कि आ–आफ्नो पार्टीको अलग–अलग घोषणा पत्र बनाउने ?

कांग्रेसको आफ्नै नीति र सिद्धान्त छ । कांग्रेस अरुको घोषणा पत्र बोकेर जाँदैन । जानु पनि हुँदैन । यो विषयमा पार्टीभित्र छलफल पनि हुन पाएको छैन । मैले बुझ्न पनि पाएको छैन । कांग्रेस र माओवादीको नीति तथा कार्यक्रम एउटै कहाँ हुन्छ भन्यो ? हुँदैन । सम्भव नै छैन ।

संविधान बचाउनको निम्ति उहाँहरूसँग हामीले गठबन्धन गर्नुपर्ने बाध्यता भएर गठबन्धन गरेका हौं । जिन्दगीभरिको लागि गठबन्धन हुने होइन । कांग्रेसको घोषणा पत्र, नीति तथा कार्यक्रम उहाँहरूसँग लिएर जान सकिँदैन । चुनावी गठबन्धन हुन्छ । तर, एउटै घोषणा पत्र लिएर जाने काम कांग्रेसले गर्नु हुँदैन । पार्टीलाई घाटा हुन्छ ।

कांग्रेस र माओवादी केन्द्र तथा अन्य साना कम्युनिस्टसहितका दलहरूबीचको गठबन्धन बनाउने भनेको प्राकृतिक नियमको सिद्धान्तले उचित छ ?

प्राकृतिक नियमको सिद्धान्तले भन्नु हुन्छ भने ठीक होइन । हामी अर्को नीति लिएर हिँडेका छौं । उहाँहरू अर्को नीति लिएर हिँड्नुभएको छ । मुलुकको परिस्थितिले हामीलाई एकठाउँमा बसाइदियो । नेकपा (एमाले)ले यो अवस्था ल्याइदियो । त्यत्रो दुईतिहाईको बहुमत पाउँदा पनि उहाँहरू ५ वर्ष मुलुक चलाइदिएको भए यो स्थिति आउने थिएन । तत्कालीन प्रधानमन्त्री केपी ओलीले एकचोटी प्रतिनिधि सभा भङ्ग गर्नुभयो । तैपनि हामीले मिल्नुस् भन्यौं । मिल्नुभएन । ओलीले फेरि दोस्रो पटक संसद भङ्ग गर्नुभयो । त्यसपछि संविधान नै संकटमा जान थाल्यो । संविधान बचाउने जिम्मेवारी कांग्रेसको हो नि ? कांग्रेसको कर्तव्य भएकाले हाम्रो सभापति शेरबहादुर देउवाले म प्रधानमन्त्री हुन्नभन्दा पनि उहाँहरूको पार्टीको नेताहरू आएर प्रधानमन्त्री बनाएपछि गठबन्धन गरेका हौं । संविधान बचाउने जिम्मेवारी हाम्रो पनि त हो नि । मुलुकलाई अफ्ठ्यारो परिस्थितिबाट निकास दिने हाम्रो कर्तव्य भएकोले हामी दायित्वमा जान कांग्रेसलाई बाध्यता भयो । हाम्रो रहरले गठबन्धन गरेको होइन । उहाँहरूको नीति हामीसँग मिल्दैन । हाम्रो नीति र सिद्धान्त निकै फरक भए पनि देशको परिस्थितिले हामी एकठाउँमा जानुपर्ने बाध्यता भएको छ ।

कांग्रेसले पार्टीभित्र टिकट बाँड्ने बेला कुनै सिद्धान्त वा मापदण्ड बनाउँछ कि बनाउँदैन ?

टिकट बाँड्दा एउटा आधार बनाएन भने गाह्रो हुन्छ । गठबन्धन गर्दै गर्दा हामीले १०० सिटमा दाबी गरौंला । १६५ सिट हामी पाउँदै छैनौं । ६५ सिटमा कांग्रेस चुनाव लड्न पाउँदैन । १०० सिटमा प्रतिस्पर्धा गर्दै गर्दा हामीले विवेकपूर्ण तरिकाले टिकट बाँड्नुपर्छ । टिकट दिँदै गर्दा राम्रो, सक्षम र जनताले पत्याएको नेतालाई दिनुपर्छ । मैले नेताहरूलाई पनि भनेको छु । मेरो मान्छे, तेरो मान्छेभन्दा पनि जित्ने मान्छे जतासुकैको होस् त्यसलाई टिकट दिनुपर्छ । मंसिंर ४ गतेको चुनाव पार्टीको क्रियाशिलले मतदान गर्ने होइन । जनताले दिने भोट हो । जनताले भोट दिने खालको नेता र पार्टीभित्रका कार्यकर्तालाई चित्त बुझ्नेलाई टिकट दियो भने राम्रो हुन्छभन्ने मलाई लाग्छ ।

कांग्रेसमा गुट पनि छन् । ६०/४० को कुरा पनि उठेको छ । यो विषयलाई कांग्रेस नेतृत्वले कसरी मिलाउन सक्छ ?

नेताहरूले ६०/४० को कुरा पनि गर्नु हुँदैन । नेताहरूले न्यायपूर्ण तरिकाले निर्णय गर्नुपर्छ । हामी धेरै अफ्ठ्यारो अवस्थामा चुनावमा प्रतिस्पर्धा गर्दैछौं । देशको सबै निर्वाचन क्षेत्रमा कांग्रेस चुनाव लड्दै छैन । यस्तो अवस्थामा हामीले आफ्नै पार्टीभित्र एकता गरेर गएनौं भने चुनाव जित्न सकिँदैन ।

मेरो झापामा पूर्वमहामन्त्री त्यहिँ हुनुहुन्छ । बहालवाला महामन्त्री पनि हुनुहुन्छ । हामी केन्द्रीय सदस्यहरू पनि छौं । हामी सबै एक ठाउँमा बसेर यो क्षेत्रमा यसरी÷यसरी टिकट बाँड्नुपर्छ भनौं । समानुपातिक यसरी गरौं, प्रदेशमा यसरी जाऔं भनेर सरसल्लाह गरेर सहमतिका साथ गएनौं भने हामीले जित्न सक्छौं र ? जित्न सकिँदैन । पूर्वमहामन्त्री एकातिर, बहालवाला महामन्त्री अर्कोतिर, हामी केन्द्रीय सदस्य अर्कोतिर लाग्यौं भने कांग्रेसले चुनाव जित्छ त ? जित्दैन । हामी सबै एकठाउँमा बसेर मिलेर जाने सहमति गरौं । शीर्ष नेताहरूले यसरी चुनावमा जाऔं नभन्ने हो भने चुनाव जित्न सकिँदैन । कांग्रेसलाई जिताउन सबै मिलेर जानुपर्छ ।

टिकटलाई लिएर युवा र पुरानोपुस्ताबीच दोहोरी चलेको छ । यसलाई कसरी व्यवस्थापन गर्ने ?

पार्टी सभापति शेरबहादुर देउवाले नेता शेखर कोइरालालाई पेलेर गयो भनेर एकथरीले भनिरहेका छन् । हामीलाई न्याय गर्दैन कि ? भन्ने अनुभूति भएको छ । शेरबहादुर दाई सभापति हो । सबैको सभापति । उहाँले त्यो अनुभूति हुन दिनुभएन । सबैलाई उहाँले म तिमीहरूको अभिभावक हुँ, सबैलाई न्याय गर्छु र तिमीहरूको संरक्षक पनि म हुँभन्ने अनुभूति गराउनुभएन भने सोँचेको परिणाम नआउन सक्छ ।

नयाँ र पुरानोपुस्ताको कुरामा कांग्रेस निकै पुरानो पार्टी हो । सबैलाई समेटेर लिएर जानुपर्छ । बुढालाई खेदाइहाल्ने, युवालाई मात्रै दिने कुरा हुँदैन । सबैलाई समायोजन गर्नुपर्छ । कुन ठाउँमा कसको सम्भावना छ, कति लोकप्रिय छ ? त्यसलाई टिकट दिनुपर्छ ।

कांग्रेसले महिला नेतृहरू कति जनालाई टिकट दिन्छ ?

कांग्रेसले धेरैभन्दा धेरै महिला नेतृहरूलाई टिकट दिनुपर्छ । यो विषयमा नेतृत्वसँग हामीले कुरा गरिरहेका छौं । कांग्रेसले कम्तिमा १५/२० जना महिला नेतृलाई प्रतिस्पधामा उतार्नुपर्छ । ५१ प्रतिशत रहेका महिलालाई चुनावमा प्रतिस्पर्धामा उतार्नुपर्छ । महिलालाई जनतासँग जोड्नुपर्छ । महिलालाई सधैं समानुपातिकमा राख्ने कुरा हुँदैन । महिला नेतृहरू पनि प्रतिस्पर्धा गर्न सक्षम छन् । कमजोर छैनन् ।

तपाई चुनावमा प्रतिस्पर्धा गर्नु हुन्छ कि ? समानुपातिकमा उम्मेदवार बन्नु हुन्छ ?

म त चुनावमा प्रतिस्पर्धा गर्ने हो । म जस्तो महिला नेतृ पनि समानुपातिकमा बस्छु भन्दा सुहाउँछ ? सुहाउँदैन ।

कहाँबाट उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्नु हुन्छ ?

म झापाको निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दिन्छु । पार्टीले मलाई तिमी चुनावमा प्रतिस्पर्धा गर, तिमी जत्तिको महिला नेतृ हामीलाई चाहिन्छ, कांग्रेसमा महिला पनि चाहिन्छ भन्यो भने म प्रतिस्पर्धा गर्न तयार छु । तयारीका साथ बसेको छु । मेरो क्षेत्रमा गएर बुझ्दा हुन्छ । काम गरेको छु । मलाई पार्टीले तँ हुँदैन भन्यो भने म झगडा गरेर जानेवाला पनि छैन । पार्टी एक भएर गएन भने चुनाव जित्न सकिँदैन । अहिले पनि झापा सजिलो ठाउँ छैन । कसले कसरी हेरेको छ मैले बुझेको छैन । झापामा हामी सबै जना मिलेनौं भने जित्न सजिलो छैन । हामी मिलेर गयौं भने अपवाद बाहेक झापाका अधिकांश क्षेत्रमा जित्छौं । त्यसका लागि मिलेर मेहनत गर्नुपर्छ ।

Published : Wednesday, 2022 August 24, 8:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया