एनबी बैंकभित्र ठूलाे भाँडभैलाे, पैसा राखेका निक्षेपकर्ताहरू डराए

काठमाडौं । सर्वसाधरण र बंगलादेशको आईएफआईसी बैंकको संयुक्त लगानी रहेको नेपाल बंगलादेश (एनबी) बैंकभित्रको विवाद सतहमा देखिएको छ ।

बैंककै सञ्चालकहरुले राष्ट्र बैंकदेखि कम्पनी रजिष्ट्रार कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा व्यवस्थापनविरुद्ध नै उजुरी हालेपछि बैंकभित्रको विवाद छरपस्ट भएको हो । बैंकले मुख्य कार्यालय स्थापनाका लागि भन्दै खरिद गरेको अजेयराज सुमार्गीको विशालनगरको जग्गामा झण्डै २२ करोड घोटला भएको कुरा बाहिर आएलगत्तै सिइओ ज्ञानेन्द्रप्रसाद ढुंगानाले शुरूदेखि नै चरणवद्ध रुपमा एक पछि अर्को गर्दै बैंकभित्र बद्मासी र जालसाँझी गरेको खुलासा भएको छ ।

कानुन विपरित बैंकको प्रवन्ध पत्र तथा नियमावली अभिलेख गराउने कार्यमा संलग्न ढुंगानामाथि कानुनी कारबाहीको माग गर्दै कम्पनी रजिष्ट्रार कार्यालयदेखि अख्तियार र राष्ट्र बैंकसम्म उजुरी परेको छ । एनबी बैंकमा ढुंगानाले एकलौटी रुपमा निर्णय लाद्न गरेका कर्तुतहरुको विवरण यस्तो छ ।

एनबीको २०७४ मंसिर ३ गते सम्पन्न २३औं साधरणसभाबाट सञ्चालक समिति गठन गर्ने कार्य भयो । जसमा पब्लिकबाट दिपक कार्की, इन्द्रबहादुर थापा र मुकुन्द ढुंगेल चुनिए भने प्रमोटरबाट १ जना महिलासहित तीन जना सञ्चालक नियुक्ति भएका थिए । यी ६ जना सहित १ थप गरी सात जनाको समिति हुने कानुनी व्यवस्था थियो ।

कम्पनी ऐन बमोजिम एक जना महिलासहित ७ जनाको सञ्चालक समिति बनाउनु भनेर कम्पनी रजिष्ट्रार कार्यालयबाट पत्राचार पनि भयो । सोही बमोजिम प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना र सञ्चालक इन्दबहादुर थापालगायतले उक्त पत्रको गलत अर्थ लगाउँदै महिला सदस्य चाहिं पब्लिकबाटै हुनुपर्ने तर, प्रमोटरबाट हुनु नहुने भन्दै बंगालीहरुलाई बाइपास गरे । जबकी कमरुन नहर अहमद नामकी महिला बोर्डमा यथावत छिन् ।

कम्पनी रजिष्ट्रारबाट पत्र अनुसार कुनै पनि गुट सृजना नगरी महिलाको मात्र उपस्थिति गराउनु पर्ने पत्रको आशय भएको हुँदा सञ्चालक दिपक कार्कीले नोट अफ डिसेन्ट प्रस्तुत गरे । प्रवन्ध पत्र र नियमावली संशोधन गर्दा साधरणसभाबाट गराउनु पर्ने र बैंक तथा वित्तीय संस्था ऐन अन्तर्गत राष्ट्र बैंकको स्वीकृत गर्ने व्यवस्थालाई चुनौती दिंदै सिइओ ढुंगानाले रातारात कम्पनी रजिष्ट्रार कार्यालयमा सेटिङ मिलाई अभिलेख गराउन सफल भएका थिए ।

सिइओ ढुंगाना स्वयम् राष्ट्र बैंकबाट जारी ऐन विपरित सञ्चालक समितिलाई झुक्याएर तेस्रो कार्यकाल खाइरहेका छन् । सो कुराले अहिले राष्ट्र बैंकसमेत अचम्ममा परेको छ । कम्पनी रजिष्ट्रार कार्यालयमा भएको यो घटनाको पछाडि सिइओ ढुंगानाको समूहको व्यक्तिगत स्वार्थ लुकेको प्रष्ट देखिन्छ ।

जग्गा खरिद गर्ने समितिमा उनीहरु दिपक कार्की भन्ने सञ्चालकलाई ल्याउन चाहँदैनन् थिए । जब कार्की सो समितिमा परे, तब सुरुबाटै उनलाई हटाउन जालझेल सुरु भयो । कार्की यस अघि पनि सो समितिमा रहेको र पुनः नियुक्ति भएपछि जग्गा खरिद गर्दा यथार्थ कुरा बाहिर आउने भएपछि सिइओ ढुंगानाले नयाँ जुक्ति लगाए ।

एक जना कल्याणी रिमाल भन्ने महिलालाई सर्वसाधरणबाट सञ्चालकमा नियुक्ति गरि पाऊँ भन्दै ढुंगानाकै डिजाइनमा उच्च अदालत पाटनमा मुद्दा हाल्न लगाइयो । त्यसपछि रिट जारी भयो । त्यहाँ प्रस्तुत भएका सम्पूर्ण डकुमेन्ट कानूनसम्मत नभएको खुल्यो । अदालतमा पेश भएका कागजातहरु राष्ट्र बैंकबाट स्वीकृत पश्चात अभिलेख गराएका हुन् कि होइनन् त्यसको प्रतिलिप पाऊँ भनि एनबी बैंकमै निवेदन परेपछि सिइओ ढुंगानाले डकुमेन्ट लुकाएको बैंककै एक उच्च अधिकारी बताउँछन् ।

यो विषयमा अहिले राष्ट्र बैंकले विष्णु थापा नामका कर्मचारीको नेतृत्वमा समिति बनाई अनुसन्धान थालेको बैंकका ति कर्मचारीले बताए । सिइओ ढुंगानाले जग्गा खरिदमा भएको घोटलाबाट बच्न यतिसम्म चतुर्‍याँईं गरेका छन् कि कम्पनी रजिष्ट्रार कार्यालयलाई समेत निकम्म बनाइसकेका छन् । स्वतन्त्र सञ्चालक नियुक्ति भइसकेका अरुण श्रेष्ठलाई सपथ नगराउन उनले कम्पनी रजिष्ट्रार कार्यालयलाई पत्र लेख्न लगाए । तर, गत जेठ २८ गते कम्पनी रजिष्ट्रार कार्यालयले उक्त विषय आप्mनो क्षेत्राधिकार भित्र नपर्ने भन्दै कानुन बमोजिम गर्नु भनेर बैंकलाई पत्राचार गरेको रजिष्ट्रार कार्यालयका एक अधिकृतले बताए ।

जग्गा खरिदमा गरेको झण्डै २२ करोड रुपैयाँ घोटलाको तथ्य बाहिर आउने भएपछि अहिले सिइओ ढुंगानाले कम्पनी रजिष्ट्रार कार्यालयलाई सरकोकार नै नभएको विषयमा पत्राचार गरी अलमल्याउन खोजिरहेको पुष्टि हुन्छ । कम्पनी रजिष्ट्रार कार्यालय स्रोतका अनुसार बैंकको तर्फबाट परेको उजुरीमा भनिएको छ–‘बैंकको साधरणसभाको प्रस्ताव तथा कम्पनी रजिष्ट्रार कार्यालयको स्वीकृती बेगर कम्पनी रजिष्ट्रारको छाप र हस्ताक्षर मिति २०७४/११/२३ मा बैंकको नियमावलीको नियम २७(२)मा यस बैंकमा एक जना महिला सहितको जम्मा ७ जनाको समिति हुनेछ । जसमा क समूहबाट मनोनित वा निर्वाचित जम्मा ३ जना, ख समूहमा रहेको सर्वसाधरण सेयरधनीबाट १ जना महिलासहित निर्वाचित ३ जना र …………. भन्ने शब्दावली राखिएको छ ।

उल्लेखित ब्यहोरामा कम्पनी रजिष्ट्रार कार्यालयले निर्देशन दिएकोमा उक्त निर्देशन विपरित कम्पनी रजिष्ट्रार कार्यालयको हस्ताक्षर गर्ने कर्मचारी बैंकका सिइओ ढुंगानाको अनुचित प्रभावमा परि साधरणसभाको निर्णय तथा स्वमय् कम्पनी रजिष्ट्रारको निर्देशन विपरित बैंकको प्रवन्ध पत्र तथा नियमावलीको अभिलेख गराएको हुँदा यसरी गलत तथा गैरकानुनी व्यहोरा अभिलेख गराउने कर्मचारी र सो कार्य गराउन प्रोत्साहित गराउने बैंकका कर्मचारी समेतलाई प्रचलित कानुन बमोजिम अनुसन्धान तथा कारबाही गरि पाऊँ ।’

बैंकको प्रवन्ध पत्र र नियमावली संशोधन गर्दा कम्पनी ऐन ७३ को दफा १२८ मा राष्ट्र बैंकबाट स्वीकृत भएपछि मात्र लागू हुने व्यवस्था रहेको छ । सो सम्बन्धमा सञ्चालकहरुले राष्ट्र बैंकको स्वीकृत बेगर प्रवन्ध पत्र नियमावली ढुंगानाको समूहले संशोधन गराएको पत्ता लगाएपछि सिइओ ढुंगाना थप समस्यामा परेका छन् ।

बैंकले चैतको अन्तिम साता केन्द्रीय कार्यालय प्रयोजनको लागि भन्दै विवादास्पद व्यापारी अजयराज सुमार्गीको मुक्तीश्री प्रालिको नाममा रहेको विशालनगरस्थित झण्डै ८ रोपनी जग्गा खरिद गरेको थियो । बजारमूल्य अनुसार प्रति आना ६० लाख पर्ने उक्त जग्गालाई प्रति आना ७८ लाख ४० हजार रुपैयाँ खरिद गरेर झण्डै २२ करोड घोटला भएको खुलेको हो ।

जग्गा घोटला प्रकरणमा सिइओ ढुंगाना, बैंक सञ्चालक समितिका बंगलादेशी नागरिक जलाल अहमद सञ्चालक इन्द्रबहादुर थापा, कम्पनी सचिव मुकुन्द ढुंगेललगायत छानविनको दायरामा तानिएका छन् । झण्डै एक अर्बमा उक्त जग्गा खरिद गर्ने निर्णय गरी पैसा समेत निकासी भइसक्दा पनि सञ्चालक समितिबाट भने निर्णय नभएको खुलिसकेको छ ।

Published : Friday, 2019 June 14, 4:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया