पूर्व एमालेभित्र पचास लाख काण्ड मच्चाउने थापाकाे नयाँ धन्दा, प्रचण्ड दिक्क

काठमाडौं । तत्कालीन एमाले निकटको युवा संघ नेपालका पूर्व उपाध्यक्ष गोविन्द थापाले दुई तिहाइको कम्युनिस्ट सरकारलाई सहयोग गर्ने भनेर अनलाइन खोलेका छन् । अनलाइनमा थापाले अदृष्य लगानी लगाएको चर्चा छ ।

बालुवाटारमा कार्यालय रहेको अनलाइनमा प्रधानमन्त्री खड्गप्रसाद ओलीका गुणगान गाउनेदेखि ओली सरकारलाई कार्यसम्पादनका आधारमा नम्बर दिनेसम्मको हर्कत गर्ने गरेको खुलासा भएको छ ।

थापाको यो अनलाइनमा प्रधानमन्त्री ओलीका पूर्व अंगरक्षक डिएसपी सन्तोष तामाङको पनि लगानी रहेको उच्च स्रोतले जनाएको छ । रसुवामा ईञ्चार्ज हुँदा कमाइ भएको पैसालाई डिएसपी तामाङले थापाले सञ्चालन गरेको अनलाइनमा लगानी गर्ने गरेको ओली समूहकै अर्को उपगुटभित्र चर्चा हुने गरेको छ ।

दोस्रो संविधानसभामा तत्कालीन नेकपा (एमाले)बाट सभासद् भएकी विराटनगरकी व्यापारी राज्यलक्ष्मी गोल्छासँग पचास लाख लिएर सभासद् बनाएको काण्डमा मुछिएका उनै थापाले प्रधानमन्त्री ओलीको नाम लिएर अनलाइन शुरू गरेका हुन् ।

थापाले सञ्चालन गरेको अनलाइनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सचेतक शान्ता चौधरीलाई स्तम्भकारका रुपमा बुधबार नियुक्त गरिएको सोही अनलाइनमा प्रकाशित समाचारमा उल्लेख छ ।

थापाको यो अनलाइनले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका विरुद्ध समाचार हाल्नेछ । सरकारका विरोधीहरूलाई पनि तह लगाउने गरेर अनलाइन सञ्चालनमा ल्याइएको चर्चा शुरू भएको छ ।

झापा घर भएका थापाले प्रहरीको सरुवा, बढुवादेखि अनेक सेटिङका गतिविधि गर्दै आएको उच्च स्रोतले जनाएको छ । ओली र दुई तिहाइको कम्युनिस्ट सरकारलाई समर्थन गर्ने भनेर अनलाइन खोलेका थापाले सोही बहाना बनाएर राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा नियुक्ति खाने दाउ बनाएका छन् । परिषदको सदस्य सचिव केशव विष्टको कार्यकाल असार ९ गते सक्किदै छ ।

परिषदको उपाध्यक्ष पिताम्बर तिमिल्सिनाले पनि सदस्य सचिवमा आँखा लगाएका छन् । खेलकुद परिषदको उपाध्यक्ष पद सेरेमोनियल बनाइएको छ । सदस्य सचिव पद कार्यकारी हो । उपाध्यक्षबाट घटुवा भएर सदस्य सचिव खान तयार भएका तिमिल्सिनाले सो पद पाउने छैनन् । एमाले पृष्ठभूमि भएका तिमिल्सिनालाई सदस्य सचिव बनाएमा खेलकुद परिषद भताभुङ्ग हुन्छ भनेर नेकपाकै खेलाडीहरूले विरोध शुरू गरिसकेका छन् ।

भागबण्डाको हिसावले राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवको जिम्मेवारी माओवादी पृष्ठभूमि भएका खेलाडीले पाउनु पर्ने हो । तर, एमाले पृष्ठभूमि भएकाहरूले सदस्य सचिव ताकेर बसेका छन् । युवा संघका पूर्वउपाध्यक्ष थापाले परिषद्को सदस्य सचिव पद जसरी पनि आफूले हत्याउने भनेर निकटा खेलाडीहरूलाई बताउन थालेका छन् ।

उच्च स्रोतका अनुसार नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिषदको सदस्य सचिवमा सुदील शाहीलाई नियुक्त गर्न खोजेका छन् । शाही नेकपाका दोस्रो तहका अध्यक्ष प्रचण्डका ब्याडमिन्टनका प्रशिक्षक (गुरु) हुन् ।

एमाले र माओवादीबीच पार्टी एकीकरण भइसक्दा पनि एमाले पृष्ठभूमि भएका नेता र खेलाडीहरूले माओवादी पृष्ठभूमि भएकाहरूलाई पेल्दै आएका छन् । एमाले पृष्ठभूमि भएका पुरुषोत्तम पौडेल नेकपाको खेलकुद महासंघको अध्यक्ष छन् । सातमध्ये छ वटा प्रदेशमा एमाले पृष्ठभूमि भएकाहरू नै खेलकुदको अध्यक्ष छन् ।

नेकपाभित्र हरेक ठाउँमा पेलानमा पर्दै आएका माओवादी पृष्ठभूमि भएका नेता तथा कार्यकर्ताहरू खेलकुद परिषदको नियुक्तिमा पनि ओझेलमा पर्ने पक्का छ । माओवादी पृष्ठभूमि भएका नेता जनार्दन शर्माले परिषदको सदस्य सचिवमा शाहीलाई नै नियुक्त गर्नुपर्ने अडान लिँदै आएका छन् ।

परिषदका अहिलेका सदस्य सचिव विष्टले पनि आफ्नो कार्यकाल फेरि पनि दोहोर्‍याउने योजना बनाएका छन् । आफैलाई समय थप गराउन विष्टले अनेकौ हत्कण्डाहरू अपनाइ रहेका छन् । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल निकटका विष्टलाई सदस्य सचिव पदमा दोहोर्‍याउने पक्षमा प्रधानमन्त्री ओली छैनन् । विष्टले आफ्नो पक्षमा माहोल बनाउन कुनै पनि कसर बाँकी राखेका छैनन् ।

Published : Friday, 2019 June 14, 11:18 am

फेसबुकबाट तपाईको प्रतिक्रिया