करातेका प्रमुख प्रशिक्षक प्रसाइँले दिए राजीनामा

काठमाडौं । नेपाल कराते महसंघ प्रमुख प्रशिक्षक शोभित प्रसाइँले पदबाट राजीनामा दिएका छन् ।

प्रसाइँले बुधबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्टलाई प्रमुख प्रशिक्षक पदबाट राजीनामा बुझाएका हुन् । यद्यपि उनको राजीनामा स्वीकृत नगर्ने विष्टलाई गुरुहरूले आग्रह गरेका छन् । उनीहरूले प्रसाइँलाई काममा फर्किन पनि अपील गरेका छन् ।

कराते महासंघभित्र विकृति र विसंगती रहेको भन्दै प्रसाइँले पदबाट राजीनामा नै दिएको जनाएका छन् । उनले कराते महासंघलाई विदेशमा लगेर मान्छे बेच्ने धन्दा बनाएको बताएका छन् ।

मान्छे बेच्ने धन्दाको कलंकबाट जोगिन आफूले प्रमुख प्रशिक्षक पदबाट राजीनामा दिएको प्रसाइँले बताए ।

प्रमुख प्रशिक्षकको नाताले करातेका खेलाडीहरूको स्तर उन्नतीमा आफू लागिपरेको भन्दै उनले चार महिनापछि नेपालमा हुन लागेको १३औँ साग गेमलाई ध्यानमा राखेर छनौट भएका खेलाडीहरूलाई आफैले उत्कृष्ट कोचलाई प्रशिक्षण गराउन सिफारिस गरेकोमा कराते महासंघले हस्ताक्षप गरेर प्रमुख प्रशिक्षकको अधिकारलाई चुल्चिने गरेको उनले आरोप लगाएका छन् ।

उनले भने, ‘साग गेमका करातेका खेलाडीहरूले प्रशिक्षण लिइरहेका छन् । ती खेलाडीहरूलाई चाहिने सुविधा समेत दिइएको छैन । यसरी देशको नाम कसरी राख्न सक्छन् खेलाडीहरूले ?’

कराते खेलाडीहरूलाई प्रक्रियाअनुसार छनौट नै नगरी आफ्ना आसेपासेलाई मात्र विदेश पठाउने र त्यसको दोष आफूलाई पनि आउने गरेकाले प्रमुख प्रशिक्षक पदबाट राजीनामा दिएको प्रसाइँले बताए ।

प्रसाइँले भने, ‘सतीले सरापेको देश भने जस्तै यहाँ राम्रो काम गर्न खोज्ने अनि विकाश र समृद्धिका खाका कोर्नेहरू गलत प्रक्रियालाई आत्मसात गरी अघि बढ्नेहरूसंग ज्यादा दिन टिक्न सकिदैन । म पनि धेरै टिक्न सकेन ।’

प्रमुख प्रशिक्षकको पदबाट प्रसाइँले दिएको राजीनामा स्वीकृत नगर्न करातेका वरिष्ठ गुरुहरूले सदस्य सचिव विष्टलाई आग्रह गरेका छन् ।

सदस्य सचिव विष्टलाई राजीनामा स्वीकृत नगर्न आग्रह गर्नेहरूमा नेपाल कराते महासंघका अध्यक्ष शम्भु आचार्य, कराते सहायक प्रमुख प्रशिक्षक दोर्जे लामा, वरिष्ठ गुरु हीरासिंह डंगोल, महेश रञ्जित, गंगाराम महर्जन, विनोद राउत, प्रवीन राना, विमल पोखरेल, राम लिम्बू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ लगायत रहेका छन् ।

स्रोतका अनुसार राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीहरूले नै प्रसाइँलाई काम गर्ने वातावरण नदिएका कारण बाध्य भएर राजीनामा दिन पुगेका हुन् । कराते महासंघभित्रको विवाद र गतल व्यक्तिलाई उकासेको आरोप लाग्दै आएको छ ।

Published : Thursday, 2019 June 13, 10:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया